close

दशरथचन्द नगरमा पाइलापिच्छे हात धुने स्टेसन

दशरथचन्द नगरमा पाइलापिच्छे हात धुने स्टेसन

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको दशरथचन्द नगरपालिकाका १३ स्थानमा हात धुने स्टेसन स्थापना गरिएका छन् । दशरथचन्दले संरक्षण गर्नेगरी रुडेश बैतडीले हात धुने स्टेसन स्थापना गरिदिएको हो । साबुनपानीले मिचीमिची हात धुने बानीको विकास गर्न र कोरोना भाइरसको जोखिमबाट बचाउन बजार क्षेत्रमा हात धुने स्टेसन स्थापना गरिएका हुन् । 


अक्सफाम नेपालको सहयोगमा रुडेश बैतडीले सञ्चालन गरिरहेको सरसफाईका लागि व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत हात धुने स्टेसन स्थापना गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । 

 

दशरथचन्दका मुख्य बजार शाहीलेक, गोठलापानी, गढी, देहीमाडौं, गुरुखोला, मुस्याचौरलगायत ठाउँमा ती स्टेसन सञ्चालनमा आएका छन् । हात धुने स्टेसनमा ५ सय लिटरका पानी ट्यांकी राखिएको छ भने खुट्टाले चलाउँदा पानी र हेन्डवास जेल आउने व्यवस्था छ ।


अहिले एक पटकका लागी रुडेस बैतडीले नै पानी तथा हेन्डवासको ब्यवस्था गरिदिए पनि यसपछि नगरपालिकाले त्यसको व्यवस्थापन गर्नेछ । केही ठाउँमा बजार व्यवस्थापन समिति र वडा कार्यालयले हात धुने स्टेसन व्यवस्थापन गर्नेछन् ।

 

हात धुने स्टेसन स्थापनका लागि एक ठाउँमा कम्तीमा ५५ हजार रुपैयाँ खर्च भएको रुडेश बैतडीले जनाएको छ । दशरथचन्दका ११ वटै वडामा एक हजार घरधुरीलाई टुठीसहितको बाल्टी वितरण गरिएको छ । ‘स्टेसनमै हात धुने सुविधा पाएपछि नगरबासी खुसी छन् ।

 

ठाउँ-ठाउँमा मेसिन जडान गरिएपछि नगरबासीलाई साबुनपानीले हात धुनुपर्ने बानी बसाउन सकिने नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठी बताउँछन् । उनले भने, ‘मान्छेहरूले सहजै पानी नपाएर हात धुँदैनन् तर यसरी हेन्डवाससहितको हात धुने ठाउँ स्थापना भएपछि निकै सजिलो भएको छ । शुक्रबार मात्रै एक घन्टामा गोठलापानीका स्थानीय एक सय १५ जनाले हात धोए,’ उनले भने ।

 

धेरैजसो सरकारी, निजी कार्यालय अगाडि र मुख्य बजारमै हात धुने स्टेसन स्थापना भएपछि कामका लागि आउने सेवाग्राहीलाई सहज हुने दशरथचन्दका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । उनले भने, ‘अहिले कोरोनाको एक मात्रै औषधी भनेको हात धुने मात्रै हो । त्यसैले सबैलाई बानी बसाउन हात धुने स्टेसनले सहयोग पुग्छ ।’

 

दशरथचन्दका १३ ठाउँमा स्थापना गरिएका हात धुने स्टेसनको नियमित सञ्चालन तथा व्यवस्थापनको काम सम्बन्धित बजार व्यवस्थापन समिति तथा नगरपालिकाले गर्नेछन् ।