close

जुम्लाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु

जुम्लाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु

Trulli
ADVERTISEMENT

जुम्ला - साविकको कर्णालीमा (कालिकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगु) नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु भई मंसिरमा सम्पन्न हुने गर्छ । पुस र माघमा यहाँ अत्यधिक जाडो हुनाले विद्यालय बन्द हुन्छन् । तर, यो चालू शैक्षिक सत्रमा विद्यालय सञ्चालन आएको महिना दिनपछि कोरोना संक्रमणका कारण विद्यालय बन्द भए । 


संघीय सरकारले गत ११ चैतदेखि कोरोना संक्रमणका कारण विद्यालय बन्द गर्ने घोषणा गरे पनि यहाँको स्थानीय प्रशासनले एक दिनअगावै १० चैतमै विद्यालय बन्द गर्‍यो । शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने भने पनि कर्णालीका झन्डै ९० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षामा सहभागी हुन पाएनन् । 


कर्णालीको नयाँ शैक्षिक सत्रको चैतमा वार्षिक परीक्षा लिने गरी तीला गाउँपालिकाले २३ कात्तिकदेखि सामुदायिक विद्यालय सञ्चालनमा ल्याएको छ । त्यसैगरी पातारासी गाउँपालिकाले पनि २३ कात्तिकदेखि विद्यालय खुलाएकोे छ । 


विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी समाजसेवीको माग तथा सुझावअनुसार तीलाकै विकट बस्तीमा पनि विद्यालय सञ्चालनमा आएका छन् । उक्त बस्तीमा रेडियो, फोन सेवा पनि चल्दैन । तर, तीला गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएपछि भने स्थानीय अभिभावक र विद्यार्थी खुसी छन् । 


तीला गाउँपालिकाले २९ कात्तिकमा शिक्षा समितिको निर्णय गरी २३ कात्तिकदेखि विद्यालय सञ्चालनमा ल्याएको हो । लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।


उनले भने, ‘अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं । विद्यार्थीलाई विद्यालयको मूल गेटमै स्यानिटाइज गरेर र बढी विद्यार्थी भएका कक्षाको सेक्सन विभाजन गरेर सञ्चालनमा ल्याइएको हो’, योगीले भने ।
   
पठनपाठन सञ्चालन गर्दा आधारभूत तहले नियमित रुपमा कक्षा सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए ।  उनले थपे, ‘माध्यमिक तहले विद्यार्थी संख्याको आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरी पठनपाठन सञ्चालन गर्नेछन् ।’


स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड अपनाई कक्षा सञ्चालन गर्ने, मास्क, स्यानिटाइजर र साबुनपानीले हात धुनुपर्ने नियम बनाइएको छ । कक्षा सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

 

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सामुदायिक विद्यालय सञ्चालनमा आउन लागेका थिए । ‘तर प्रशासनले अनुमति नदिएपछि सञ्चालन भएनन्’, उनले भने, ‘पुनः प्रशासनसँग विद्यालय सञ्चालनका लागि अनुमति लिने तयारी छ ।’

 

हिमा गाउँपालिका - ४ का वडाध्यक्ष तथा शिक्षा समिति सभापति मुनबहादुर बुढाका अनुसार कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले अनुमति नदिएपछि विद्यालय सञ्चालनमा आएका छैनन्  । गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउन पहल गरे पनि खुलेका छैनन् । 

 

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउने अनौपचारिक जानकारी आएपछि औपचारिक रुपमा प्रशासनलाई सूचना दिइएको छैन । ‘स्थानीय तह र प्रशासनको यस विषयमा कुनै छलफल तथा समन्वय  भएको छैन । संघीय सरकारबाट पनि विद्यालय सञ्चालनको कुनै पनि निर्देशन आएको छैन’, देवकोटाले भने ।