close

खेवाङमा विमानस्थल बनाउन जनप्रतिनिधिकाे माग

खेवाङमा विमानस्थल बनाउन जनप्रतिनिधिकाे माग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा जाने पर्यटकलाई लक्षित गर्दै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा नं.- ७ खेवाङको प्रभु थुम्का क्षेत्रमा विमानस्थल बनाउन पर्यटनमन्त्री योगेशकुमार भट्टराई समक्ष प्रस्ताव गरेको छ । 


गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईसँग प्रभु थुम्का क्षेत्रमा विमानस्थल बनाउने प्रस्ताव औपाचरिक रूपमै राखेका छन् । अहिले कञ्चनजङ्घा जाने-आउने पदमार्गमध्ये सबैभन्दा बढी प्रयोगमा आउने क्षेत्र भनेकै सिरिजङ्घा गाउँपालिकाको सिनाम-पेदाङ-खेवाङ हुँदै याम्फुदिनसम्म जाने मार्ग हो । 


यस्तै, सिरिजङ्घा गाउँपालिकाको सिकैचा-पेदाङ-मामाङ्खे हुँदै पनि पदमार्गमार्फत कञ्चनजङ्घा आउने-जाने गरिन्छ । उता, फुङ्लिङ नगरपालिकाबाट फक्ताङ्लुङ गाउँपालिकाको लेलेप-घुन्सा हुँदै पनि कञ्चनजङ्घातर्फ जान सकिन्छ । 


गाउँपालिकाले खेवाङमा रहेको सो स्थानमा विमानस्थल बनाउन राखेको प्रस्तावपछि मन्त्री भट्टराईले त्यसको प्राविधिक अध्ययन गर्ने बताएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।


‘प्राविधिक रूपले उपयुक्त भए विमानस्थल बनाउन सकिने आश्वासन मन्त्रीज्यूबाट पाएका छौँ’, गाउँपालिका अध्यक्ष गुरुङले भने । कञ्चनजङ्घा हिमाललाई पालिकाको समृद्धिको आधार मानेको गाउँपालिकाले पालिकाको नारा पनि ‘सिरिजङ्घाको गौरव, कञ्चनजङ्घा’ तय गरेको छ । 


त्यहाँ विमानस्थल बनाउन सके कञ्चनजङ्घा आउने पर्यटकमा गुणात्मक वृद्धि हुने गाउँपालिकको ठम्याइ छ । अहिले ताप्लेजुङको फुङ्लिङस्थित सुकेटारमा मात्र विमानस्थल रहेको छ । त्यहाँबाट फुङ्लिङ वडा नं.- १० फावाखोलाको लालीखर्कबाट सिरिजङ्घाको सिकैचा-याङपाङ (पेदाङ)-मामाङ्खे-याम्फुदिन हुँदै कञ्चनजङ्घातर्फ जान सकिन्छ ।