close

कोरोना नियन्त्रणमा सन्दकपुरकाे खर्च ६२ लाख

कोरोना नियन्त्रणमा सन्दकपुरकाे खर्च ६२ लाख

Trulli
ADVERTISEMENT

इलाम - सन्दकपुर गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न ६१ लाख ९० हजार १६३ रुपैयाँ खर्च गरेको छ । पालिकाले महामारी नियन्त्रण गर्न प्रकोप कोषमा जम्मा गरेको रकमबाट ७५ प्रतिशत मात्र खर्च गरेको छ ।


महामारी नियन्त्रणको नाममा ८२ लाख ३७ हजार ६८४ रुपैयाँ ८२ पैसा जम्मा गरेको थियो । जम्मा गरेको रकममा दुई लाख ४७ हजार ५२० रुपैयाँ ९३ पैसा खर्च नभई बचत रहेको तथ्यांकमा उल्लेख छ । 


महामारी नियन्त्रण गर्न प्रदेश सरकारको पाँच लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । जम्मा भएको कोषमा पालिकाको कार्यान्वयन हुन नसकेको योजनाको बजेट, कर्मचारीको पाँच दिन बराबरको तलब र विभिन्न व्यक्ति तथा संघसंस्थाले दिएको सहयोग संकलन गरिएको थियो ।

 

महामारीको बन्दाबन्दीको समयमा अतिविपन्न १६३ घरपरिवारलाई राहत सहयोग गरिएको थियो । विपन्न परिवारलाई चामल, नुन, तेल, चिनीलगायतको दैनिक खाद्य सामग्री वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । 


पालिकाबाहिरबाट आउनेलाई विभिन्न विद्यालयमा ८७ बेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ । क्वारेन्टाइनमा बस्नलाई सिरक, ब्ल्याङ्केट, सिरानी, हिट फर्म, तन्ना, स्यानिटाइजर, स्प्रे, विद्युत जडानका साथै भान्साको सामग्री खरिद गरेको छ । यसका साथै स्वास्थ्य सामग्रीमा भीटीएम, मास्क खरिदमा एकमुष्ट रकम खर्च भएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले चाडबाडको समयमा घर आउनेलाई होम क्वारेन्टाइनमा बस्न आह्वान गरेको बताएको छ । महामारीलाई ध्यानमा राखी गाउँपालिकाले कोभिड अस्पतालको तयारी गरिरहेको छ । अस्पतालका लागि १० रोपनी जग्गासमेत खरिद गरेर आवश्यक तयारीमा जुटिरेहको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए ।


महामारी नियन्त्रणका सवालमा आवश्यक खर्चलाई पारदर्शी बनाउन कोरोना भाइरस उपचार रोकथाम तथा नियन्त्रण कोष सञ्चालन कार्यविधि, २०७७ बनाई सहज बनाइएको गाउँपालिकाले जनाइएको छ ।