close

८ महिनापछि खुल्यो वडा कार्यालयको ताला 

८ महिनापछि खुल्यो वडा कार्यालयको ताला 

Trulli
ADVERTISEMENT

बैतडी - गाउँपालिका केन्द्रको विषयमा विवाद रहेको बैतडीको डिलाशैनी गाउँपालिकामा ३ चैत २०७६ मास्थानीयवासीले चारवटा वडाहरूमा लगाएको तालाबन्दी बल्ल खुलेको छ । 


गाउँपालिकामा जनप्रतिनिधिहरू आएसँगै पहिलो बैठक वडा नं- ७ मा बसेको थियो । तत्कालीन राज्य पुनर्संरचना आयोगले गाउँपालिकाको दुर्गम वडाका रूपमा रहेको वडा नं- ७ को धामीगाउँमा केन्द्र तोकेको बताइन्छ । 


तर, केही महिनापछि दुर्गम क्षेत्रका कारण त्यहाँ काम गर्न अप्ठ्यारो भएको भन्दै वडा नं- ३ को पङसेरामा सम्पर्क कार्यालय स्थापना गरी सेवा दिन थालियो । पङसेरा पक्की सडकसमेत रहेको ठाउँ हो । त्यहाँ सम्पर्क कार्यालय राखिएपछि वडा नं. ४, ५, ६ र ७ का स्थानीयवासीले केन्द्र सार्ने चलखेल भएको भन्दै विरोध गर्न थालेका थिए । 
   

फलस्वरूप ३ चैत २०७६ मा बसेको गाउँसभाको निर्णयले वडा नं- ३ को पङसेरामै स्थायी केन्द्र राख्ने निर्णय पारित गर्‍यो । उक्त निर्णयविरुद्ध वडा नं. ४, ५, ६ र ७ का केही स्थानीयवासीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले ३ चैतमा चारवटै वडा कार्यालयहरूमा तालाबन्दी गरेका थिए । 
 

डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नं- ३ मा बनाउने निर्णय गाउँसभाको दुई तिहाइ बहुमतले पारित गरेसँगै उक्त निर्णय सुदूरपश्चिम प्रदेश सरकारलाई पठाइयो । उक्त निर्णयसहितको सिफारिस प्रदेश सरकारले केन्द्र सरकारलाई पठायो र केन्द्र सरकारले अहिले गाउँपालिकामै सरोकारवालाहरूबीचको समन्वयमा केन्द्र विवाद टुंग्याउन पत्र पठाएपछि आन्दोलनका कार्यक्रम रोकिएका छन् भने वडा कार्यालयहरूमा लागेको तालाबन्दी खुलेको छ । 
   

डिलाशैनी केन्द्रको विषयलाई लिएर विगतदेखि आन्दोलन गरिरहेको डिलाशैनी न्यायिक समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरू अन्त्य गरेको जनाएको छ । डिलाशैनी गाउँपालिकाको गाउँसभाले तोकेको केन्द्र खारेज भइसकेको आन्दोलनकारीले जनाएका छन् भने गाउँपालिकाले भने आफूहरूले तोकेकै ठाउँमा केन्द्र रहने जनाएको छ ।  
  

गत १८ कात्तिकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रमा गाउँपालिकाको दुई तिहाइ बहुमतले केन्द्र तोकेकामा केही गाउँसभा सदस्यले विवाद सिर्जना गरेको कुरा सच्याउन मात्र भनिएको गाउँपालिका प्रवक्ता अक्कलबहादुर रानाले बताए । 


उनले भने, ‘हाम्रो गाउँसभा र प्रदेश सरकारले अनुमोदन गरिसकेको कुरा संघ सरकारले उल्ट्याउने भन्ने हुँदैन । त्यसैले दुई तिहाइले पारित गरेको विषयलाई एक-दुई जना सदस्यले असन्तुष्टि जनाएको कुराहरू बाहिर आएको थियो । यसैलाई मिलाउनुहोस् भनिएको छ ।’


अहिले डिलाशैनी- ३ स्थित पङसेराबाटै गाउँपालिकाका सम्पूर्ण कामकाज सञ्चालन भइरहेका छन् ।