close

स्वास्थ्य परीक्षण गर्न घर-घर पुग्दै  स्वास्थ्यकर्मी 

स्वास्थ्य परीक्षण गर्न घर-घर पुग्दै  स्वास्थ्यकर्मी 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको बेनी र दरबाङमा कोरोना भाइरसको महामारी फैलिन नदिन स्वास्थ्यकर्मीसहित घरदैलो गरेर स्वास्थ्य परीक्षण अभियान सुरु भएको छ । 


बेनी नगरपालिका र मालिका गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमसहित घरदैलो गरेर नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेका हुन् । बेनी नगरपालिकाले वडा नं. ७ र ८ मा पर्ने बेनी बजारमा आइतबारदेखि घरदैलो गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । 


मालिका गाउँपालिकाले दरबाङ बजारमा शनिबारदेखि नै यस्तै प्रकृतिको अभियान सुरु गरेको थियो । पछिल्लो समय जनप्रतिनिधि, व्यापारी र समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण बढेपछि नगरपालिकाले स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अभियान सुरु गरेका छन् । 


कोरोना संक्रमितको आत्मबल बढाउने, सम्पर्कमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्ने, लुकेका र स्वास्थ्य समस्या भएकालाई पहिचान गरी स्वाब परीक्षण गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन घरदैलो अभियान सञ्चालन गरेको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक लीला गौतमले बताइन् । 


‘कोरोना संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रका समुदायका नागरिकहरू बाहिर ननिस्किसकेको अवस्था छ’, उनले भनिन्, ‘घरमा उहाँहरूको अवस्थाका बारेमा जानकारी लिने र कोभिड–१९ महामारी नियन्त्रणका लागि घरदैलो अभियानमा लागेका हौँ ।’


दुई जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि र टोल सुधार समितिका पदाधिकारीसहितका दुईवटा टोली बनाएर परिचालन गरिएको छ । देखिन नचाहने र लक्षण नदेखिएको भनेर संक्रमितहरू घरमै बसेको हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर घरदैलो अभियान चलाएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले स्वास्थ्यकर्मीलाई थर्मल गन हस्तान्तरण गरेर अभियान सुरु गरेका छन्् ।  


अभियानका क्रममा बजारवासीको घरमा पुगेर थर्मल गनले ज्वरो नाप्ने, स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा जानकारी गराउनुका साथै पालना गर्न प्रतिवद्धतासहित नागरिकलाई शपथ खुवाएका छन् । 


मास्कको अनिवार्य रूपमा प्रयोग गर्न, सामाजिक तथा भौतिक दूरी कायम गर्न, साबुन-पानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची पटकपटक हात धुन वा गुणस्तरीय ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्न, विशेष कामबाहेक घरबाट बाहिर ननिस्कन, प्रशस्त मात्रामा झोलिलो वस्तु तथा पोषिलो खानेकुरा खान, आफ्नो तथा परिवारका सदस्यको स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।  


समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण फैलिन थालेपछि म्याग्दीको बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाले सेवा र बजार बन्द गरेका छन् । भीड र अनावश्यक आवतजावतलाई व्यवस्थित गर्न गरिएको सेवा बन्दले कोरोना फैलिन नपाएको र नियन्त्रणमा सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।