close

हिमपातबाट जोगिन उद्धार सामग्री खरिद गर्दै ताप्लेजुङका ४ पालिका

हिमपातबाट जोगिन उद्धार सामग्री खरिद गर्दै ताप्लेजुङका ४ पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - हिमपातको उच्च जोखिममा रहेका ताप्लेजुङका चार गाउँपालिकाका पाँचवटा वडाहरूले चिसो तथा हिमपातसम्बन्धी राहत तथा उद्धारका सामग्रीहरू खरिद गर्ने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले विपदपूर्व तयारी तथा प्रतिकार्यका लागि भन्दै मिक्वाखोला, सिरिजङ्घा, फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकालाई चिसो तथा हिमपातसम्बन्धी राहत तथा उद्धारका सामग्रीहरू खरिद गर्न आग्रह गरेको थियो ।


‘चिसो तथा हिमपातको जोखिमबाट बचाउन राहत तथा उद्धारका सामग्रीहरू खरिद गर्ने निर्णय लिइसकेका छौँ’, सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले भने । सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले पालिका स्तरीय विपद् तयारी तथा प्रतिकार्य योजना र जिल्ला विपद् व्यवस्थापन समितिको प्रस्तावअनुसार चिसो तथा हिमपातसम्बन्धी राहत तथा उद्धारका सामग्रीहरू खरिद गर्ने योजना रहेको बताए । 


विपद् व्यवस्थापन समितिले फक्ताङ्लुङ गाउँपालिकाको वडा नं.- ६ लेलेप र वडा नं.- ७ ओलाङ्चुङगोला, मिक्वाखोला गाउँपालिकाको वडा नं.- ५ पापुङ, सिदिङ्वा गाउँपालिकाको वडा नं.- १ कालीखोला र सिरिजङ्घा गाउँपालिकाको वडा नं.- ८ याम्फुदिनलाई चिसो तथा हिमपातबाट बढी प्रभावित हुने सम्भाव्य क्षेत्रको रूपमा लिएको छ । 


जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले विपद्को पूर्वअनुमान, पूर्वतयारी, रोकथाम वा न्यूनीकरण र उद्धार, राहत तथा पुनर्स्थापनासम्मका कार्य गर्ने दायित्व स्थानीय सरकारको भएकाले सम्भाव्य घटनाको पहिचान गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि विपद् व्यवस्थापन समितिले स्थानीय तहलाई अनुरोध गरेको बताए । 


खरिद भएका हिमपातसम्बन्धी राहत तथा उद्धारका सामग्रीहरू सम्बन्धित पालिकामा रहेको पायक पर्ने प्रहरी युनिटमा राखिने भएको छ । राहत तथा उद्धारका क्रममा स्थानीय बासिन्दा, रेडक्रससहितका सामाजिक संस्था र जनप्रतिनिधिसहित नागरिक समाजसँग मिलेर प्रहरीले कार्य गर्ने भएकाले राहत तथा उद्धारका सामग्री प्रहरी युनिटमा राख्ने सहमति भएको प्रजिअ चापागाईंले बताए ।