close

बिर्तामोडमा देउसी-भैलो खेल्न नपाइने

बिर्तामोडमा देउसी-भैलो खेल्न नपाइने

Trulli
ADVERTISEMENT

झापा - झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण बढ्न सक्ने आशंकामा यस वर्षको तिहारमा देउसी-भैलो नखेल्न नगरबासीलाई आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समिति संयोजक तथा नगर प्रमुख ध्रुवकुमार सिवाकोटी अध्यक्षताको बैठकले यस्तो निर्णय गरेको हो ।

 

दीपावली, छठ, नेपाल संवत्जस्ता पर्वमा भेला हुने, देउसीभैलो खेल्ने, नाचगानजस्ता सबै क्रियाकलाप बन्द गर्ने निर्णय भएको नगरप्रमुख सिवाकोटीले बताए । 

 

‘सबै पक्षसँगको समन्वयमा चाडवाडलाई एकाघरमा मात्र सीमित गरी मनाउने र नगरभित्र सञ्चालित होटल, रेस्टुराँ राती ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ,’ नगरप्रमुख सिवाकोटीले भने ।

 

तिहारका बेला समेत कोभिड-१९ रोकथामसम्बन्धी जनचेतनाका लागि सबै वडा र टोलमा प्रचार-प्रसार गर्ने नगरको निर्णय छ । यस्तै, नगरभित्रका व्यापार व्यवसाय र बजार पूर्ण रुपमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने-गराउने र नगरप्रमुख, उप-प्रमुखसमेतको टोलीबाट बजार अनुगमन गरिनेछ । 


‘नगरभित्र रहेका यातायात, विद्युत् कार्यालयलगायतमा बढी भीडभाड हुने गुनासो आइरहेका बेला त्यस्ता कार्यालयबाट दिइने सेवालाई व्यवस्थित गर्न-गराउन नगरप्रमुखको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरी व्यवस्थापनको प्रबन्ध गर्ने निर्णय भएको छ’, नगरप्रमुख सिवाकोटीले भने ।

 

कोभिड-१९ को लक्षणसँग मिल्दोजुल्दो भई घरमै पिसीआर नगरी बसेका सबैलाई पहिचान गरी पिसीआरको दायरा बढाउने र बिरामी पहिचानका लागि वडामार्फत टोल विकास संस्था परिचालन गरी निःशुल्क टेस्टका लागि स्रोतको पहिचान गरिने नगरपालिकाले निर्णय गरेको छ । होम आइसोलेसनमा रहेका बिरामीको नियमित अवस्थाबारे जानकारी लिने, उचित परामर्श र उपचारका लागि आवश्यक व्यवस्था मिलाउन जनप्रतिनिधि खटिने उनले जानकारी दिए ।

 

यस्तै, नगरपालिका र वडा कार्यालयबाट दिइने सेवा स्वास्थ्य मापदण्डभित्र रही प्रवाह गरिनेछ । हाललाई राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम स्थगन गर्ने निर्णयसहितको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय नगरपालिका बैठकले गरेको छ ।

 

भीडभाड कम गर्न नगरपालिकाबाट दिइने सेवाम आलोपालो गर्ने योजना रहेको नगरप्रमुख सिवाकोटीले जानकारी दिए । आइतबार वडा-१, २, सोमबार वडा-३, ४, मंगलबार वडा-५, ६, बुधबार वडा-७, ८, बिहीबार वडा-९, १० कार्यालयले सेवा दिनेछन् ।