close

सडक खन्दा मासिए गोरेटो, न गुडे गाडी, न बनाइयो पूरा बाटो

सडक खन्दा मासिए गोरेटो, न गुडे गाडी, न बनाइयो पूरा बाटो

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङको जैमिनी नगरभित्रका सडक मर्मतका लागि लाखौं रुपैयाँ खर्चेर गत वर्ष नै जेसिभी मेसिन खरिद भएको छ । त्यसबाहेक हरेक वडाका सडक तथा सार्वजनिक सम्पत्ति मर्मत गर्न वडागत रुपमा नगरपालिकाले बजेट व्यवस्था गरेको छ ।

 

स्रोत–साधनको कमी नभए पनि समयमा काम नहुँदा जैमिनीका सर्वसाधारण सधैं अप्ठेरोे सडकको सामना गर्नुपर्ने बाध्यतामा छन् ।

 

बर्खामा बाढीपहिरोले क्षतविक्षत बनाएका सडक समयमा मर्मत नगर्दा नगरबासीले सास्ती भोग्दै आएका छन् । नगरपालिका हुँदै निर्माण भएको बाग्लुङ–कुस्मीशेरा–बरेङ–शान्तिपुर कृषि सडक र कालीगण्डकी करिडोरको टाकुरी पालुङखोला खण्ड मुख्य सडक हुन् ।

 

कृषि सडकको ठाउँ–ठाउँमा कालोपत्रेको काम चलिरहेकाले सवारी र सर्वसाधारणले सास्ती खेप्दै आएका छन् भने करिडोर निर्माणाधीन अवस्थामै छ ।

 

मुख्य सडक हुँदै गाउँ–गाउँ पुग्ने सडक समयमा मर्मत हुन नसक्दा सर्वसाधारण समस्यामा परेको वडा–७ का स्थानीय सागर गिरीले बताए ।

 

उनले भने, ‘वडा–७ को  कार्यालय बिराउने हुँदै कालीगण्डकी करिडोर छर्लुवा जोडिने ग्रामीण सडक खण्ड विस्तार गरेको वर्षौं बित्यो तर सडकको मर्मत र स्तरोन्नति भने भएको छैन,’ गिरीले भने, ‘पहिलो वर्ष हिउँदमा सवारी चले पनि बर्खापछि सवारी आउजाउ कठिन बन्दै गयो । यो वर्ष त सवारी नै चल्दैनन् ।’

 

समयमै सडक मर्मत नहुँदा श्रम र समयको खर्च धेरै हुने गरेको स्थानीयले गुनासो गर्न थालेका छन् । सडक मर्मतका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेको भए पनि समयमा काम नहुने गरेको वडा–७ का रमेश सार्थक बताउँछन् ।

 

‘गाउँमा कामको चटारो छ तर ओहोरदोहोर गर्ने सडकको अवस्था हेरिनसक्नु छ,’ उनले भने, ‘सडक बनाउँदा पैदलमार्ग मासिए, चाहिएका बेला गाडी चल्दैनन् ।’

 

सडक मर्मत नहुँदा बिरामी परेका बेला एम्बुलेन्स बोलाउनसमेत कठिन हुने गरेको उनीहरूको गुनासो छ ।

 

नगरपालिकाले भने सडक मर्मतको काम भइरहेको जनाएको छ । ‘केही दिनमै गुनासो आएका सडक मर्मत भइसक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, ‘एउटा जेसिभी सबैतिर डुलाउँदा समय लागेको हो ।’

 

जैमिनीले १३ सडकलाई मुख्य मार्ग किटान गरेको छ । वडा कार्यालयसम्म पुग्ने सडक मर्मतमा पहिलो प्राथमिकता रहेको उनले बताए । त्यसबाहेक वडाभित्र निर्माण भएका सडकको तथ्यांकै छैन ।

 

पालिका मुकाम र वडा कार्यालयसम्म पुग्ने सडकसमेत मर्मत नहुँदा जैमिनीको यात्रा सकसपूर्ण हुने गरेको यात्रुको गुनासो छ ।