close

शिक्षा र स्वास्थ्यमा तमानखोलाको लोभलाग्दो प्रगति

शिक्षा र स्वास्थ्यमा तमानखोलाको लोभलाग्दो प्रगति

Trulli
ADVERTISEMENT

बाग्लुङ– तमानखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।


शिक्षाको कारण अवसरमा पछि परेका र स्वास्थ्य सेवा नपाउँदा अकालमा ज्यान गुमाउने स्थानीयलाई सेवा दिन पालिकाले ती क्षेत्रमा कार्यक्रम केन्द्रित गरेको अध्यक्ष जोकलाल बुढाले बताए ।


सबै विद्यालयमा गुणस्तरीय शिक्षा दिने, कम्प्युटर कक्षा सञ्चालनलगायतको काममा ४० शिक्षक गाउँपालिकाको कोषबाट राखेर पढाउने व्यवस्था मिलाएको छ । यसले गर्दा शिक्षामा सामान्य सुधार देखिन थालेको अध्यक्ष बुढाले दाबी गरे ।


‘पहिला शिक्षक अभावले कक्षा पनि नहुँदा बालबालिकालाई विद्यालयमा अड्याउन सकिएको थिएन । अहिले वैकल्पिक शिक्षासमेत दिइएको छ,’ तमानखोला गाउँपालिका–६ स्थित विष्णु आधारभूत विद्यालयकी शिक्षिका दिलिशा छन्त्यालले भनिन्, ‘शिक्षाको सुधारले बालविवाह पनि घटेको छ ।’

 

गाउँपालिकाले दुई वर्षसम्म बालविवाहविरुद्ध पनि सामाजिक अभियान चलाएको थियो । अभियानका क्रममा बालविवाह गर्दा सार्वजनिक सेवाबाट वञ्चित गर्ने चेतावनी दिइएको थियो । यस्तै, बालविवाह गर्दा हुने स्वास्थ्य समस्याबारे परामर्श बढाएपछि त्यस्तो परिवर्तन आएको खुँखानी स्वास्थ्य चौकी प्रमुख गरिमा हर्मेलले बताइन् ।

 

‘सानो उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्य समस्या बढ्ने र मृत्युसमेत हुन सक्ने चेतावनी दिइएपछि विवाह घटेको छ,’ उनले भनिन्, ‘विवाह गर्ने मात्र नभई त्यसपछि हुने समस्याबारे बुझेर बच्चा जन्माउने क्रम पनि घटेको छ ।’


 
पहिला २० वर्षमुनिका अधिकांश महिलाले बच्चा जन्माउने गरेकामा अहिले त्यो क्रम घटेर छिटफुटमा आइपुगेको हर्मेलको दाबी छ । चालू वर्ष दुई जना मात्रै २० वर्षमुनिका महिलाले बच्चा जन्माएको उनले सुनाइन् ।


स्वास्थ्य सुधारका लागि पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएका छन् । त्यसका लागि गाउँपालिकाले कम्तीमा एक स्वास्थ्यकर्मी र एक कर्मचारी तथा सम्भव हुने स्थानमा तीन जनासम्म राखेर परामर्श, प्राथमिक उपचार र विकृतिविरुद्धको अभियान चलाइएको अध्यक्ष जोकलाल बुढाले बताए ।

 

‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याए उक्त जनशक्तिले अन्य काम गर्न सक्छ,’ उनले भने, ‘सिर्जनशील क्षेत्रमा युवालाई लगाउन पनि स्वास्थ्य अवस्था सुधार हुनुपर्छ ।’ शिक्षा र स्वास्थ्यको अवस्था सुधार भएपछि विकास निर्माणले गति लिने उनको तर्क छ ।


 
तमानखोलाका सबै वडा र मुख्य बस्तीमा सडक सन्जाल पुगेपछि गर्भवती महिलाले बर्थिङ सेन्टरमा पुगेर सुत्केरी हुन पाएका छन् । अन्य बिरामीले समयमै उपचार सेवा पाएका छन् ।

 

तमानखोलाले विशेषगरी पुराना र जीर्ण भवन रहेका अधिकांश विद्यालय निर्माणमा लगानी गरेको छ । तीन वर्षमा यहाँका दर्जन बढी विद्यालयका नयाँ भवन बनेका छन् । नयाँ र जोखिमरहित भवनमा पढ्न पाउने भएपछि बालबालिका पनि खुसी छन् ।

 

दुईदेखि आठ कोठेसम्मका भवन बनेपछि शिक्षकले पनि ढुक्क भएर पढाउने र बालबालिका रमाउने अवस्था बनेको नर्जाखानीस्थित विष्णु आवासीय विद्यालयका प्रधानाध्यापक ओमप्रकाश छन्त्यालले बताए ।

 

‘अहिले भवन निर्माण गर्दै छौं । बनेपछि पढाइ सहज हुन्छ,’ उनले भने, ‘कतिपय विद्यालयमा गत वर्ष भवन बनिसकेका छन् ।’ शान्ति मावि खुँखानीमा दातासमेतको लगानीमा १८ कोठाको पक्की भवन बनिसकेको छ ।

 

शिक्षा र स्वास्थ्यमा अझै १० वर्षको लगानी आवश्यक भएको अध्यक्ष बुढाको कथन छ । ‘भूगोल अप्ठेरो भएकाले सडक सहज बनाउने योजनासँगै कम्तीमा १० वर्ष शिक्षा र स्वास्थ्यमै लगानी गर्नुपर्छ,’ बुढाले भने, ‘त्यसपछि मात्रै सदरमुकाम तहसम्मका विद्यालयको प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’