close

फाल्गुनन्द जयन्तीकाे अवसरमा मंगलबार सार्वजनिक बिदा

फाल्गुनन्द जयन्तीकाे अवसरमा मंगलबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - किरात धर्म गुरु फाल्गुनन्द लिङ्देनको १३६औँ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका सूचना अधिकारी जय रिजालले सोमबार सूचना जारी गर्दै पालिकाको कार्यालय, मातहतका कार्यालय र विद्यालय बन्द रहने जनाएका छन् । 


प्रदेश १ सरकारले जारी गरेको प्रदेश राजपत्र भाग ३ को २(१)(ग)बमोजिम प्रदेशभर सार्वजनिक बिदा उल्लेख गरेबमोजिम फक्ताङ्लुङ गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिइएको हो । 


अघिल्लो वर्ष पनि फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाले फाल्गुनन्द जयन्तीको दिन बिदा दिएका थिए । नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनलाई किराती धर्मावलम्बीहरूले महान समाज सुधारकको रूपमा लिने गर्छन् । 

 

उनले प्रतिपादन गरेको सत्य धर्म मुचुल्का अहिले पनि प्रशंसायोग्य छ । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनी आदर्श बचन दिने फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई किरातीहरूले आस्थाको केन्द्र मान्छन् ।


लिङ्देनले समाज सुधारका लागि २४ वैशाख १९८८ मा पाँचथरको लब्रेकुटीमा आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गरेका थिए । देहावसान भएको ६१ वर्षपछि १६ मंसिर २०६६ मा सरकारले उनलाई १६औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो ।