close

मादल बिक्दै बिकेन तिहार कसरी मनाउनु ?

मादल बिक्दै बिकेन तिहार कसरी मनाउनु ?

Trulli
ADVERTISEMENT

ओखलढुंगा– देशमा कोरोना कहर थिएन र तिहारमा देउसीको टोलीले रिहर्सल सुरु गरिसकेको भए सिद्धिचरण नगरपालिका– २ ठूलाछापका धनबहादुर सार्कीको आम्दानी यतिवेला ५० हजार रुपैयाँ माथि हुन्थ्यो ।


यो वर्ष सार्कीको घरमा मादलका लागि काठ छैन । न त आवस्यकमात्रामा छाला नै छ । न मादल बनाउन अर्डर आयो । न पुराना मादल उचित मूल्यमा बेच्न नै पाए । त्यसैले सार्की भन्छन्, ‘यसपालिको तिहारमा हामीलाई हर्ष छैन ।’


सार्कीको मात्र होइन ओखलढुंगाको सिद्धिचरण नगरपालिकालगायतका गाउँमा मादल बनाउनेहरु दलित परिवार तिहार खर्च कसरी जुटाउने भन्ने चिन्तामा छन् ।


मादल बनाउने पेसामा आश्रित उनीहरु हरेक वर्ष तिहारअघि मादल बेचेर चाडबाड र परिवार चलाउने खर्च जुटाउथे ।


कोरोना संक्रमणका कारण देउसीभैलो तथा सांगीतिक कार्यक्रम नहुने भएकाले मादल बिक्री भएका छैनन् । मादल बिक्री गरेर दशैँको ऋण तिर्ने, तिहार मनाउने र बचेको रकमले जीवन निर्वाह गर्ने योजनामा यसपटक बज्रपात परेको छ ।

 

नयाँ मादल बनाउने र पुराना मर्मत गरेर दशैँ, तिहारको समयमा ५० हजार रुपैयाँभन्दा बढी कमाउँदै आएको सिद्धिचरण नगरपालिका– २ ठूलाछापका सार्कीले बताए ।

 

उनले भने, ‘अघिल्ला वर्षहरूमा तिहारको सिजनमा प्रतिघर २० वटाभन्दा बढी नयाँ मादल र उति नै संख्यामा मर्मत गरेर कमाएको पैसाले चाडबाड मनाइन्थ्यो, यो साल कतै माग नै भएन ।’


पुराना मादल मर्मतको काम पनि छिटपुट मात्र आएकाले समस्या भएको अर्का मादल व्यापारी काजीबहादुर चर्मकार बताउँछन् । विगतमा यो सिजनमा मादल बनाउन भ्याइनभ्याइ हुने उनीहरू अहिले फुर्सदिला छन् ।


ओखलढुंगाको ठूलाछाप, विलन्दु, भदौरे, ज्यामिरे, लामीडाँडा, मानेभञ्ज्याङ, दियालेलगायतका ठाउँमा बसोवास गर्दै आएका दलित समुदायको आय आर्जनको आधार भनेकै मादल थियो । यहाँ प्रायः सार्की समुदायका मानिसहरूले मादल बनाउने गर्छन् ।

 

उनीहरूको पेसा संरक्षण तथा व्यावसायिक बनाउन नगरपालिकाले ध्यान दिन नसकेको गुनासो छ । संगीत र संस्कृतिसँग जोडिएको मादल बनाउने पेसाको संरक्षण र विकास गर्न सके मादल बनाउने पेसामा आश्रित नागरिक पनि स्वरोजगार बन्न सक्ने उपप्राध्यापक भेषनाथ खनाल बताउँछन् ।  


खनालले भने, ‘मादल संगीत र संस्कृतिको प्रतिबिम्ब हो, यसको संरक्षण गर्न मादल बनाउने पेसालाई सुरक्षित र व्यावसायिक बनाइनुपर्छ ।’