close

धवलागिरि गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु 

धवलागिरि गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको दरबाङ-धारापानी खण्ड स्तरोन्नति सुरु भएको छ । 


पूर्वाधार विकास कार्यालय म्याग्दीसँग गत चैतमा १४ करोड ३८ लाख ६७ हजार १७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको धुलिखेल-ब्राइट-कुँवर जेभीले करिब सात महिनापछि काम सुरु गरेको हो । दुई वर्षको ठेक्का अवधि भएको आयोजनाअन्तर्गत प्रारम्भिक चरणमा सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि टीका सुवेदीले बताए । 


उनका अनुसार निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित कोरोना भाइरसको जोखिमका बाबजुद उपकरणका साथै स्थानीय मजदुरहरूलाई परिचालन गरिएको छ । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले दरबाङको म्याग्दी खोलामा मोटरेबल पुलदेखि दङखोला-बादीकाको उकालो हुँदै धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको जानकारी दिए । 


‘दरबाङ-दाङखोला-ताकम-मुना-ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले क वर्गमा राखेको छ’, उनले भने, ‘सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणाअनुसार यो आयोजना सञ्चालन भएको हो ।’


पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नति सुरु भएको हो । धारापानीदेखि मुनासम्मको करिब १३ किलोमिटर सडक स्तरोन्नतिका लागि डीपीआर तयार पारेर अर्को चरणमा ठेक्का प्रक्रियामा लैजाने पूर्वाधार विकास कार्यालयले जनाएको छ । 


स्तरोन्नति गरेर सडकलाई आठ मिटर फराकिलो बनाइने कार्यालयका प्रमुख इञ्जिनियर नवराज पौडेलले बताए । ग्राभेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याविन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलानसमेत हुने उनको भनाइ छ ।
 

करिब एक दशकअघि ट्र्याक खुलेको दरबाङ-धारापानी सडक जोखिमयुक्त र डरलाग्दो छ । जिल्लाकै चर्चित उकालो बाटो बादीकाको उकालोमा भीर र पहाडमा खनिएको सडक उकालो र साँघुरो छ । साढे तीन मिटरदेखि चार मिटर फराकिलो सडकको घुम्ती भने मिलेको छैन ।
 

स्थानीयवासीको अगुवाइमा ट्र्याक खुलेको सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको छ । यो सडक स्तरोन्नति भएमा धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दाका साथै ढोरपाटन जाने-आउने पर्यटकलाई समेत सुविधा पुग्ने धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् ।  


यस सडकलाई दरबाङ-बिम-ताकम-मुना-जलजला सडकको विकल्पका रूपमा लिइएको छ । यो सडकअन्तर्गत धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा पर्ने भारवाङमा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । 


दरबाङ-धारापानी सडकको दाङखोलामा मोटर चल्ने पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन । दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधले पुल डुबानमा पार्ने भएपछि स्थगित भएको छ । जलविद्युत आयोजनाले नै पुल बनाइदिने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गरेको छैन ।