close

बुटवल उपमहानगरकाे याेजना : वन स‌ंरक्षणदेखि गाै स‌ंरक्षणसम्म

बुटवल उपमहानगरकाे याेजना : वन स‌ंरक्षणदेखि गाै स‌ंरक्षणसम्म

Trulli
ADVERTISEMENT

रूपन्देही - ‘एक वन, बहुपोखरी’को अवधारणा बनाएर कार्यान्वयनसमेत गरिरहेको बुटवल उपमहानगरपालिकाले वनमाराको झाडी र विशाक्त फोहोरले ढाकिँदै गएका वनलाई संरक्षण एवं व्यवस्थित गर्दै नमुना बनाउने लक्ष्य लिएको छ ।


बुटवलको शिवनगर वनमा पर्यावरणीय पार्क तथा धार्मिक पर्यटन केन्द्रको एउटा गन्तव्य स्थल बनाउने पहल सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक वनसँग सहकार्य गर्दै वनमा पर्यापर्यटन र धार्मिक पर्यटन स्थलसहितको उद्यान बनाउन लागेको हो ।


वनमा गौसंरक्षण केन्द्रका साथै पर्यावरणीय उद्यान निर्माण गरिनेछ । वनका उपभोक्ताहरूसँगको छलफल र त्यस क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमै उपमहानगरले कार्ययोजना बनाएर सुझाव संकलन गरेको छ । बुटवलमा विकराल जस्तो बन्दै गएको छाडा चौपायाको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने र शहर नजिकैको वनको सौन्दर्यसमेत बढाउने लक्ष्यका साथ उपमहानगरपालिकाले यस्तो योजना बनाएको हो । 


शहरको छेउमै रहेको वनलाई संरक्षण र थप व्यवस्थित गर्दै अध्ययन स्थलका रूपमा विकास गर्ने लक्ष्यसहित नयाँ अवधारणा बनाइएको र त्यसमा सबैको सहकार्यको खाँचो रहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीको भनाइ छ ।


बुटवलको वडा नं. ७, ८, ९ र ११ वडामा फैलिएको शिवनगर सामुदायिक वनलाई अझ व्यवस्थित गर्दै पर्यापर्यटन र धार्मिक पर्यटनका रूपमा विकास गर्ने लक्ष्यका साथ योजना बनाइएको प्रमुख सुवेदीले बताए । यसका लागि उपमहानगरपालिकाले वन उपभोक्ता समूहदेखि वडाका राजनीतिक दलका प्रतिनिधि, प्राविधिक, वातावरणविद् नागरिक समाज, अधिकारकर्मीदेखि अगुवाहरूसँग सहकार्य गर्नेगरी नयाँ योजना बनाइएको छ । 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १५ मा भएको स्थानीय स्तरमा सेवा प्रवाहसम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका सामुदायिक संघसंस्था परिचालन गर्न सक्नेगरी भएको कानुनी व्यवस्थासमेतको आधारमा शिवनगर वनलाई गौसंरक्षण केन्द्रसँगै पर्यावरणीय उद्यानका रूपमा व्यवस्थित गर्न लागिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।


बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सडकमा आश्रित छाडा पशु चौपायाहरू (गाई, गोरु, बाच्छा, बाच्छी) व्यवस्थापनका लागि प्रारम्भिक गौसंरक्षण केन्द्र स्थापना र सञ्चालन सम्बन्धमा उपमहानगर र सामुदायिक वनका बीचमा ऐतिहासिक सम्झौतासमेत भइसकेको छ । 


स्थानीय समुदाय, उपभोक्ता, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू तथा वातावरणविदसमेतका सरोकारवाला समेट्दै योजना प्रस्ताव गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवं वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक नारायणप्रसाद पुनले बताए ।


बुटवल बजारमा अस्तव्यस्त रहेको छाडा चौपाया व्यवस्थापन गर्नका लािग सामुदायिक वनले जग्गा उपलब्ध गराउने र बुटवल उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्नेगरी हालै बुटवल उपनगरपालिका र वनको तर्फबाट सहमतिपत्रमा हस्ताक्षर भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । 


उपमहानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शर्मा र वनका तर्फबाट अध्यक्ष नारायणबहादुर घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यस क्रममा प्रमुख सुवेदी, उपप्रमुख गमादेवी आचार्य, वडा नं. ७ का राजनीतिक दलका प्रतिनिधिहरू, वनका उपभोक्ता समितिका पदाधिकारी तथा अगुवा, उपमहानगरका विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरू उपस्थित थिए । 


आकर्षक गौसंक्षण केन्द्र बन्ने


अहिले योजनामा प्रस्ताव गरिएका कामका लागि शिवनगर सामुदायिक वन क्षेत्रको करिव पाँच कट्ठा जग्गामा गौसंरक्षण केन्द्र अर्थात् कान्जी हाउस बनाइनेछ । त्यसको आवश्यक व्यवस्थापन नगरपालिकाले गर्नेछ ।


गौसंरक्षण केन्द्र तथा उद्यानको संरक्षण एवं रेखदेखका काम सामुदायिक वन उपभोक्ता समितिले गर्ने सहमति भएको सामुदायिक वनका अध्यक्ष घिमिरेले जानकारी दिए । वनमा वनस्पतिको संरक्षणदेखि जनावरको उचित संरक्षण गर्दै पर्यापर्यटन र धार्मिक पर्यटन स्थलका रूपमा विकास हुने उनकोे दाबी छ  ।


संरक्षण केन्द्रमा पुर्‍याइएका गाई, गोरुहरूको अभिलेख राखिने भएको छ । किसानले पालेका र पाल्न नसक्ने भएमा त्यस्ता गाईलाई समेत आवश्यक परेको खण्डमा मापदण्ड तय गरेर संरक्षण केन्द्रमा राख्नेगरी तयारी भइरहेको छ । 


अनुत्पादक झाडी फाँडेर घाँस रोपिने


अधिकांश वनक्षेत्रहरू फोहोर फाल्ने र वनमाराले ढाकिएका अवस्थामा छन् । बुटवल शहरको बीचमै रहेको शिवनगर सामुदायिक वनलाई भने अब फोहोर फाल्ने र वनमाराले ढाकिएको नभई व्यवस्थित पर्यावरणीय वनका रूपमा विकास गर्न लागिएको छ ।

 
बुटवल उपमहानगर र वनका बीचमा भएको सम्झौताअनुसार गौरसंरक्षण केन्द्रमा राखिने पशुको आहारका लागि चाहिने आवश्यक घाँस वनमै उमारिनेछ । वन क्षेत्रमा रहेको झाडी र अनुत्पादक बुट्यानलाई सफा गरेर त्यहीँ विभिन्न प्रजातिका घाँस रोपिनेछ । बिरुवा रोप्ने काम उपमहानगरले गर्नेछ भने ती घाँसका बिरुवाको संरक्षणसमेत वनले नै गर्ने व्यवस्था मिलाइएको उपमहानगरका सरसफाइ शाखा प्रमुख टोपलाल शर्माले बताए । 


कान्जी हाउस निर्माण भएपछि नगर क्षेत्रभित्रका पशुपालक किसानले आफ्ना गाईवस्तु संरक्षण केन्द्रमा बुझाउन ल्याएमा निश्चित व्यवस्थापन शुल्क लिई ती चौपायाको पनि जिम्मा लिनेगरी संरक्षण केन्द्रको योजना बनाइएको छ ।