close

तिहारमा देउसीभैलो प्रतिबन्ध

तिहारमा देउसीभैलो प्रतिबन्ध

Trulli
ADVERTISEMENT

जुम्ला/पाेखरा– जुम्लामा र पाेखरामा यस वर्ष तिहारमा देउसीभैलो खेल्न र पूजापाठ गर्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीलाई मध्यनजर गर्दै देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो ।


महामारीको अवस्थामा यस वर्ष जुम्ला र कास्कीका सबै स्थानीय तहहरूमा देउसीभैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।


जुम्लाको एउटा नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तहमा देउसीभैलो खेल्न र पूजाआजामा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘देउसीभैलोको कार्यक्रम गर्दा धेरै जमघट हुने हुन्छ । यस कारण कोरोना संक्रमणको जोखिम उच्च हुने सम्भावना हुन्छ । यसका लागि हामीले यस वर्ष जिल्लाभर देउसीभैलो खेल्न प्रतिबन्ध लागाउने निर्णय गरेका हौँ ।’


यसका लागि जिल्ला सुरक्षा समितिले मात्र निगरानी गरेर नहुने सबै स्थानीय तह जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ छ । जिल्ला सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न नदिन जुम्लाका सबै स्थानीय तहलाई पत्राचारसमेत गरिएको उनले बताए ।


कुनै पनि ठाउँमा यस्ता कार्य गरेको पाइएमा जोसुकैलाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ ।


तिहारमा हुने आगलागी जस्ता गतिविधिलाई मध्यनजर गरी आतिसबाजी, पटकालगायतका ज्वलनशील प्रदार्थ प्रयोग गर्न र बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । साथै अनावश्यक रूपमा सार्वजनिक रूपमा जमघट, राजनीतिक भेला, सभा, सम्मेलन जस्ता कार्य गरी शन्ति सुरक्षामा, सुव्यवस्थामा खलल पु¥याउने कुनै खालको गतिविधि गरेको खण्डमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ । तिहारको अवधिभर साँझ ७ बजेभन्दा पछि मदिरा बेचबिखन गर्न पनि पाइनेछैन ।


तिहारको रमाइलो गर्ने वहानामा होहल्ला गरी शन्ति, सुरक्षा भंग गर्ने जुवातास खेल्ने, खेलाउने कार्य गरेको खण्डमा प्रशासनले प्रचलित कानुनबमोजिम कारबाही गर्नेछ । तिहारलाई लक्षित गरी हुने घटनालाई मध्यनजर गरी सुरक्षाकर्मी थप परिचालन गरिने प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए ।


उनले भने, ‘सबैभन्दा बढी जमघाट हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिनेछ । प्रहरी प्रशासनले मात्र कडा गरेर हुँदैन, महामारीबाट बच्नका निम्ति आमनागरिकले आफ्नो कर्तव्य निर्वाह गर्न जरुरी छ ।’
कास्कीमा पनि नपाइने

कास्की प्रशासनले पनि देउसीभैली खेल्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण बढ्ने खतरा हुने भन्दै देउसीभैलोमा बन्देज लगाएको हो ।


अहिले बसिरहेकै ठाउँमा बसेर चाडवाड मनाउन प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीवासीमा अनुरोध गरेका छन् । `बसिरहेको ठाउँबाट तिहार, छठलगायत पर्व मनाउनुहोला', सूचनामा भनिएको छ, 'कोरोना जोखिम बढ्छ, अहिले देउसी नखेल्नुहोला ।´


प्रशासनले आतसबाजी, पटाका, झिरझिरे, भुइँचम्पालगायत विस्फोटक पदार्थहरूको ओसारपसार, बिक्री-वितरण तथा प्रयोग नगर्न उर्दी जारी गरेको छ । सूचनाको बेवास्ता गरे संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने प्रजिअ ढकालको भनाइ छ ।