close

पसिनासँग पैसा साट्नेका लोभलाग्दो कथा

हरेकजसो घरमा किन्न पाइन्छ कुखुरा, बंगुर, बाख्रा र तरकारी

पसिनासँग पैसा साट्नेका लोभलाग्दो कथा

हरेकजसो घरमा किन्न पाइन्छ कुखुरा, बंगुर, बाख्रा र तरकारी

Trulli
ADVERTISEMENT

गुल्मीको छत्रकोट गाउँमा कुनैबेला विदेश जानेको लर्को नै थियो । अहिले समयसँग स्थानीयको सोच बदलिएको छ । बैंस सबै अर्काको देशमा सकेका स्थानीय अव चाँहि आफ्नै माटोमा पसिना बगाउँदै पैसा कमाउँदै छन् । छत्रकोटको माटोमा पसिना बगाएर पैसा कमाउनेहरुको लोभलाग्दो कथाः

 

गुल्मी - केही वर्ष पहिले भारतमा पाइप लाइनको काम गर्ने छत्रकोट गाउँपालिका-२ पल्लीकोटका इमानसिंह राना अहिले आफ्नै बारीमा भेटिन्छन् । उनको कृषिकर्म लोभलाग्दो छ । अहिले १०  टनेलमा गोलभेडा पाक्नै आँटेका छन् । खुला बारीकान्लामा रोपेका गोलभेडामा पनि लटरम्मै देखिन्छन् । बारीकान्लाई गोलभेडासहित बोडी, सिमी काउली, खुर्सानी र गोभीले हरियाली बनाएका छन् । 


रानाले कृषि खनीखोस्रीबाटै वर्षमा खर्च कटाएर ५ लाख कमाउँछन् । पहिले डोको बोकेर वीरबास र बलेटक्सार पुगे अहिले  पैंचो पसल गाउँ-गाउँमै तरकारी लिन आएपछि सहज भएको राना बताउँँछन् ।


साढे ६ लाख खर्च गरेर ९५ हजार लिटरको ट्यांकी निर्माण गरेका छन् । २०७२ सालबाट गाउँ फर्किएर रानाले व्यावसायिक तरकारी खेती थालेका हुन् । ‘बैंस सबै अर्काको देशमा सकेर अहिले आफ्नै माटोमा पसिना बगाउन थालेको छु,’ उनले भने, ‘काम र उत्पादनबाट सन्तुष्ट छु ।’ 

 

भर्खरै पाँच रोपनी बारीमा आलु रोप्न सुरु गरेका छन् । उनलाई कृषि ज्ञान केन्द्र र छत्रकोट गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ । रानाले तरकारीसँगै कुखुरा फार्म पनि सञ्चालन गरेका छन् । फार्मका ५ सय बोइलर अब बिक्रीका लागि तयार हुन थालेको राना सुनाउँछन् ।


सिँचाइ सुविधा नहुँदा सोचेअनुसारको कृषिकर्म फस्टाउन सकेको छैन । खानेपानीकै संकट भएकाले बर्खे पानी संकलनबाहेक अरु उपाय पल्लीकोटका धेरै स्थानमा छैन । छत्रकोट गाउँपालिका-१ का दानबहादुर पल्लीले वर्षमा २० लाख बढी मूल्यको बंगुर बेच्छन् । लाहुरे बन्ने सपना पूरा नभएपछि २०७० सालबाट व्यावसायिक बंगुरपालन थालेका पल्लीकहाँ अहिले ८० पाठापाठी र २० माउ छन् भने बंगुरका १० माउ गर्भवती छन् ।

 

‘वर्षमा तीनदेखि साढे तीन सय पाठापाठी र चारदेखि पाँच क्विन्टल मासु बेच्दै आएको छु । बंगुरको बजार गुल्मीसहित पाल्पा, अर्घाखाँची, स्याङ्जा र रुपन्देही हो । बंगुरपालनबाट खर्च कटाएर वार्षिक १२ देखि १५ लाख घरमै आम्दानी हुन्छ,’ उनले भने ।

 

बंगुरसँगै बाख्रापालन र कृषि खेती गर्दै आएका पल्लीको खोरमा १२ माउ र पाठापाठी छन् । वर्षमा दुई लाख बाख्राबाटै कमाउँछन् भने ३० कच्ची र ११ पक्की गरेर ४१ टनेलमा गोलभेडा खेती गरेका छन् । 


यो सिजनमा मात्रै दुई सय क्विन्टन गोलभेडा बेचेको उनले सुनाए । ‘उत्पादन गरे बजारको कुनै समस्या छैन । स्मार्ट कृषिमार्फत मेरै घरमा गाउँभरको तरकारी संकलन हुन्छ । बुटवलबाट तरकारी लिन गाडी घरमै आउँछ,’ पल्ली खुसी साट्छन् ।


हुँगामा पनि पानीको सहज आपूर्ति छैन । आकाशे पानीकै भरमा कृषि खेती चलिरहेको छ । उनले पनि घैंटा र ९५ हजार लिटरको ट्यांकीमा आकाशे पानी संकलन गरेर कृषि र पशुपालन गरिरहेका छन् ।


प्रदेश र स्थानीय सरकारबाट बंगुरपालन र कृषिका लागि ९ लाख आर्थिक तथा प्राविधिक सहयोग पाएको पल्लीले बताए । सोही गाउँकै होमबहादुर पल्लीले तीन वर्षदेखि व्यावसायिक रुपमा बंगुरपालन र तरकारी खेती गरिरहेका छन् । सात वर्ष साउदी र दुवईमा काम गरेर फर्किएका पल्लीसँग स्वदेशमै कृषि कर्मप्रतिको अठोट पलाएको छ ।


सुरुमा पाँच युवा मिलेर सञ्चालन गरेको व्यावसायिक तरकारी खेती अहिले आफैं मात्रै गर्छन् । जिल्ला युवा परिषदबाट बिनाधितो पाँच लाख र साझेदारको १५ लाख गरेर २० लाख बढी लागतमा फार्म सञ्चालन गरे । 


यो सिजनमा मात्रै पल्लीले साढे आठ हजार गोलभेडाका बोट रोपेका थिए । तर, सिंचाइ नहुँदा तिनले राम्रो आम्दानी दिन नसकेको उनी बताउँछन् । सात वटा बंगुर पालेका पल्लीले माउ र पाठापाठीसहित वर्षमा पाँचदेखि सात लाखको बिक्री हुने गरेको बताए । ‘स्मार्ट गाउँ कार्यक्रमले थुप्रै किसान उत्साहित छन्,’ उनले भने, ‘सिँचाइ नहुँदा सोचेअनुसारको प्रगती भएको छैन ।’

 

छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्थ भूगोलका कारण खानेपानीको समेत संकट भएकाले सिँचाइका लागि आकाशे पानी संकलनबाहेक अरु उपाय नभएको बताउँछन् ।


उनले खोला क्षेत्रमा प्रशस्तै सिँचाइ भए पनि डाँडाका कृषकलाई अनुदान र सहुलियत दिएर पानी संकलन गर्ने ट्यांकी, पोखरी, घैंटाहरू निर्माण गरिएको जानकारी दिए । यो वर्षलाई कृषि वर्षको रुपमा लिएकाले वडाअनुसार कृषि क्षेत्र निर्धारण गरेर काम अगाडि बढेको पन्थले बताए ।