close

बुटवलका सटर टेण्डरमा अनियमितता !, खारेज गर्नुपर्ने व्यवसायीको माग 

बुटवलका सटर टेण्डरमा अनियमितता !, खारेज गर्नुपर्ने व्यवसायीको माग 

Trulli
ADVERTISEMENT

रूपन्देही - बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेका व्यवसायिक सटरमा आह्वान गरिएको टेण्डर खारेज गर्नुपर्ने टेण्डरमा सहभागी व्यवसायीहरूले माग गरेका छन् । टेण्डर दर्ताको समय सकिइसकेपछि पनि नगरपालिकाले घुसपैठ गरेर टेण्डर दर्ता गरेको भन्दै त्यो खारेज हुनुपर्ने उनीहरूले माग गरेका हुन् ।


बुटवल उपमहानगरपालिका- ५ मा नगरपालिकाको स्वामित्वमा रहेका ८७ वटा व्यावसायिक सटरको म्याद सकिएको दुई वर्षपछि २४ कात्तिक १२ बजेसम्मको म्याद दिएर नगरपालिकाले नयाँ टेण्डर आह्वान गरेको थियो । तर, नगरपालिकाले ३ बजेसम्म टेण्डर दर्ता गरेको व्यवसायीको आरोप छ । नगरपालिकाले बोलपत्र आह्वान गर्दा २ बजे टेण्डर खोल्ने उल्लेख गरेको थियो ।


‘हामी नतिजा सुन्न आतुर थियौँ तर नगरपालिकाले ३ बजेसम्म धमाधम टेण्डर दर्ता गरिरहेको थियो । उक्त विषयमा जानकारी गराउनका लागि मंगलबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सटर व्यवसायी संघका अध्यक्ष खुमानन्द खनालले भने, ‘खुला प्रतिस्पर्धामा जो पनि सहभागी हुन पाइन्छ, हामीले त्यसको विरोध गरेका होइनौँ, विधि र पद्धतिअनुसार नभएकाले त्यो मान्दैनौँ ।’


नगरपालिकाले १२ बजेसम्म टेण्डर दर्ता गर्ने र २ बजे खोल्ने समय दिए पनि ३ बजेसम्म पनि धमाधम टेण्डर दर्ता गरेपछि व्यवसायीले नगरपालिका घेराउसमेत गरेको थिए । उनीहरूलाई प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।


२०६० सालमा शोर्पा टी कम्पनी र बुटवल नगरपालिकाबीचको १५ वर्षे सम्झौतापछि उनीहरूले ती सटरमा व्यवसायसमेत गर्दै आएका थिए । दुई वर्ष अगाडि नै सम्झौताको म्याद सकिए पनि शेर्पा टीको आग्रहमा नगरपालिकाले दुई वर्षको म्याद थपेको व्यवसायीहरूले बताएका छन् ।


नगरपालिकाले बोलपत्र आह्वान गर्दा राष्ट्रिय बाणिज्य बैंकमा पैसा जम्मा गरेको रसिद बुझाउनुपर्ने उल्लेख गरे पनि समय सीमा नाघेर दर्ता गरिएका टेण्डरको खाममै पैसा जम्मा गरेको समेत आन्दोलनरत व्यवसायीको आरोप छ । 


त्यस्तै, नगरपालिकाले घुसपैठ गर्नकै लागि ई-टेण्डर नगरेको समेत उनीहरूले आरोप लगाएका छन् । अर्का एक व्यवसायी टीकाराम पौडेलले पनि आफूहरूलाई भित्रसमेत जान नदिएको र २ बजे टेण्डर खोल्ने समय भए पनि ३ बजेसम्म धमाधम टेण्डर दर्ता गर्ने काम गरेको बताए । 


कोरोना भाइरसको महामारीले थलिएका बेलामा सडकमा छटपटाइरहेको मान्छेलाई पानी खुवाउनुपर्ने बेलामा नगरपालिकाले चलखेल तथा धाँधली गरेर साना व्यवसायीलाई विस्थापित गर्न खोजेको अध्यक्ष खनालको आरोप छ ।


तर, नगरपालिकाले भने उनीहरूको आरोप अस्वीकार गरेको छ । व्यवसायीले लगाएको आरोप गलत भएको बताउँदै बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले निहुँ झिकेर विवाद गर्ने काम मात्र भएको प्रतिक्रिया दिए ।


टेण्डर दर्ता गर्ने समय १२ बजेसम्म तोकिएको र सोहीअनुसार काम भएको बताउँदै उनले टेण्डर असफल गराउनका लागि व्यवसायीले प्रपन्च गरेको प्रत्यारोप लगाए । टेण्डर खारेज गर्ने कुनै सम्भावना पनि नभएको खनालको भनाइ छ ।


बैंकमा जम्मा गर्नुपर्ने धरौटीबापतको रकम खाममा बुझाएको भन्ने व्यवसायीको आरोपलाई खण्डन गर्दै वरिष्ठ अधिकृत खनालले भने सिलबन्दी टेण्डर दर्ता भएकाले खामभित्र के छ भन्ने कुराको आफूलाई कुनै जानकारी नभएको उत्तर दिए । ‘खामभित्र के छ भन्ने कुरा थाहा हुने कुरा भएन, धरौटीबापतको रकम नगद पनि आएको छ, त्यो मूल्यांकन समितिले मूल्यांकन गर्दा सही वा गलत छुट्याउने काम उसको हो ।’


बुटवल उपमहानगरपालिकाले ८७ वटा सटरमा गरेको टेण्डर आह्वानमा ३४१ वटा टेण्डर परेको पनि खनालले बताए ।