close

जनकपुरधामकाे स्वच्छता अभियान : काम कम प्रचार ज्यादा

जनकपुरधामकाे स्वच्छता अभियान : काम कम प्रचार ज्यादा

Trulli
ADVERTISEMENT

धनुषा - जनकपुरधाम उपमहानरपालिका- ८ को ऐतिहासिक पोखरी दशरथ तलाउ (महाराज सागर) छेउमा फोहोर थुपारिएको दृश्य लामो समयदेखि हेर्न बाध्य छन् स्थानीय । फोहोरको डंगुरभन्दा उत्तरतर्फ धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाराज पोखरी छ भने दक्षिणतर्फ ऐतिहासिक पागला बाबा धर्मशाला पनि । 


पोखरीको पश्चिमतर्फ भने भगवान् शिवको मन्दिर छ, जहाँ श्रद्धालु पूजापाठ गर्न दैनिक आउने-जाने गर्छन् । तर, आवश्यक सरसफाइ नहुँदा यहाँ आउने पर्यटक र तीर्थालु मर्कामा पर्ने गरेका छन् ।


जनकपुरमा स्थानीय सरकारले नेतृत्व सम्हालेपछि स्थानीयवासीले सरसफाइ नियमित हुने र शहर स्वच्छ हुने आशा गरेका थिए । तर, जनकपुर उपमहानगरपालिकाले जनप्रतिनिधि पाएको तीन वर्ष बितिसक्दा पनि सरसफाइको अवस्था ज्यूँका त्यूँ छ । वडा नं.- ८ का अध्यक्ष रमेश ठाकुरले उक्त क्षेत्रमा सरसफाइ नै नगरिएको बताए । छठको समयमा सफाइ गरिने उनको भनाइ छ । 


जनकपुर उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह आफैँ बेलाबेला झाडु लिएर सफाइमा निस्किन्छन् नगर सफाइका लागि । उनका पछिपछि दर्जनभन्दा बढी मानिस पनि हुन्छन् । तीमध्ये  कोही सहयोगी त कोही कार्यकर्ता अनि कर्मचारी पनि ।  


नगरप्रमुख साह, उपप्रमुख रीता मिश्रलगायतका नेता, कार्यकर्ता बेलाबेलामा यसरी झाडु लिएर सरसफाइमा लागेका देखिए पनि जनकपुर उपमहानगरपालिकामा नियमित फोहोर उठ्न सकेको छैन ।  नगरवासी फेसबुकमा सफाइ गरेको फोटो देखिने तर सडकमा फोहोर उठेको नदेखिने बताउँछन् । 


युवा अभियन्ता सुशील कर्ण उपमहानगरपालिकाले अझै पनि फोहर विसर्जन गर्ने स्थान खोज्न नसकेकाले जनकपुरले सरसफाइका क्षेत्रमा राम्रो काम गर्न नसकेको बताए । कर्णले भने, ‘मेयर साहेबले सबै देखावटी गर्दै छन् ।’

 

नगरका अन्य ठाउँको के कुरा, जानकी मन्दिर, राम मन्दिर वरपरकै क्षेत्र सफा हुन नसकेको स्थानीयको आरोप छ । जानकी मन्दिर अगाडि फूलबारीको पर्खाल भत्काइएको इँटा सडकमै छरपस्ट फालिएको छ । सर्वसाधारणलाई आवातजावतमा समस्या हुने गरेको भए पनि पालिकाको ध्यान पुग्न सकेको छैन ।


जनकपुरधाममा जानकी मन्दिर, राम मन्दिर, धनुष सागर, गंगा सागर जस्ता कैयौँ एतिहासिक सम्पदा छन् । धार्मिक नगरी भएकाले देश, विदेशबाट हिन्दू धर्मावलम्बी यहाँ दर्शनका लागि आउँछन् । ती पर्यटकहरूले पनि सरसफाइ नभएको गुनासो गर्छन् । 


उपमहानगरपालिकाले बर्सेनि सरसफाइमा मात्र करोडौँ रुपैयाँ खर्च गर्छ- इन्धन, सरसफाइ सामग्रीदेखि सफाइ कर्मचारीसम्ममा । गत आर्थिक वर्षमा सरसफाइका लागि पालिकाले ८० लाख रुपैयाँभन्दा बढी खर्च गरेको वडा अध्यक्ष मिथिलेश कर्णले बताए ।


उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका लागि स्थायी र अस्थायी गरेर झन्डै १०० जना कर्मचारी छन् । तर, नगरपालिकाले सफाइका लागि पर्याप्त काम गरेको सफाइ इन्चार्ज श्याम ठाकुर दाबी गर्छन् । उनले पालिकाले सबै वडामा सफाइ कर्मचारी दिएको र प्रत्येक दिन ट्र्याक्टर पठाउने गरेको दाबी गरे । 


देशकै पुरानो शहरमध्येको एक जनकपुरमा सडक, नालाको उचित सरसफाइ हुन नसकेको भनेर आलोचना हुने गरेको छ । नेपालका अन्य नगरपालिकाको तुलनामा जनकपुर उपमहानगरपालिकाभित्रको सरसफाइको अवस्था दयनीय छ । 


दशैँ सुरु हुनासाथ जनकपुरलगायतका अन्य पालिका र स्थानहरूमा तिहार (दीपावली)को तयारी सुरु हुन्छ । घर-आँगन, र पसलहरूमा सरसफाइ तीब्र हुन्छ । यस पटक भने जनकपुरधाम उपमहानगरले दशैँ तिहारमा स्वच्छता अभियान नै संचालन गरेको छ । उपमहानगरका प्रमुख लालकिशोर साह दलबलसहित आफैँ वडावडामा झाड़ु र बेल्चा लिएर पुगेका दृश्यहरू सामाजिक संजालमा छ्यापछ्याप्ती देखा पर्न थाले ।


पालिकाका २५ वटै वडामा सरसफाइ तीब्र बनाइएको चर्चा परिचर्चा सुरु भयो तर वास्तिवकता भने विल्कुलै फरक छ । 

 

शहरको मुख्य नाकामै फोहोरको थुप्रो

 

जनकपुरधाम उपमहानगरपालिकाको प्रवेशद्वार उत्तरतर्फ मुजेलिया र पिडारी चोकमा फोहोर थुप्रिएको सहजै देख्न सकिन्छ । वडा नम्बर- १४ मुजेलिया र वडा नम्बर- ९ पिडारी चोकमा  समेत फोहोर सडकमै फालिएको छ । उपमहानगरपालिकाले सुरु गरेको भनिएको स्वच्छता अभियानको प्रभाव यी वडामा देख्न पाइएको छैन । 


नगरप्रमुख साहलगायत पालिकाका सफाइ कर्मचारीले गरेको एक दिनको सफाइले मात्र वडा सफा नहुने स्थानीय जोगी राउतले बताए । राउतका अनुसार फोहोर उठाउन पालिकाले प्रत्येक दिन योजनाअनुसार काम अगाडि नबढाएको कारण नै यो सफाइ देखावटी जस्तै भएको छ । वडा कार्यालयले सफाइमा चासो नदिँदा सफाइ सोचेअनुरूप हुन नसकेको स्थानीय अजय रायको भनाइ छ ।


पालिकाको दक्षिणी सीमा रुपैठा र देवपुरामा पनि फोहोर जस्ताको त्यस्तै छ । सफाइ अभियान संचालन भएर सफाइ भइसकेको देवपुरा रुपैठा टोलको जटही जनकपुर जाने छ लेनको सडकमा पालिकाले अभियान संचालन गरे पनि भित्र टोल र गाउँमा फोहोर सर्वत्र छरिएको छ । यसका लागि वडा कार्यालयले चासो दिनुपर्ने तर ध्यान नै न दिएको स्थानीयको गुनासो छ ।


उपमहानगरपालिकाको वडा- ४ को कार्यालय अगाडि नै फोहोरको डंगुर छ तर पालिका वा वडाले अझै उठाउन सकेका छैनन् । वडा ७, ८, ९, १० लगायत शहरका मुख्य सडक खण्डमा पनि सडक छेउमै छाडा चौपाया र फोहोर थुप्रेको दृश्य सहजै देख्न सकिन्छ । 


मेयर लालकिशोर साहले आफ्नै सक्रियतामा संचालन गरेको सरसफाइ कार्यक्रम स्वच्छता अभियान सस्तो लोकप्रियताका लागि गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्न थालेका छन् । जनकपुरमा नगरप्रमुखले स्वच्छता अभियानको नाममा जनतालाई ठग्ने काम गरेको वडा- ७ का अध्यक्ष जानकीराम साहले आरोप लगाएका छन् ।

 

प्रत्येक वडामा वडा अध्यक्षलाई जिम्मा दिनुको सट्टा आफैँ पुगेर एक दिन सफाइ गरेर वडा सफा नहुने वडा अध्यक्ष साहको तर्क छ । साहले बजेट सिध्याउन नै नगरप्रमुख साहले अहिले आफैँ सफाइको नाटक गर्दै हिँडेको आरोप लगाए ।