close

डाक्टर अभावले गाउँका कोरोना अस्पताल चलाउनै हम्मे 

डाक्टर अभावले गाउँका कोरोना अस्पताल चलाउनै हम्मे 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीका गाउँपालिकाहरूले स्थापना गरेका कोरोना अस्पताल संचालनमा समस्या भएको छ । उपकरण र पूर्वाधार तयार भए पनि कोरोना अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मी पाउन नसकेका हुन् ।

 

कोरोना संक्रमितको स्थानीय स्तरमै उपचारका लागि गाउँपालिकाहरूले कोरोना अस्पताल स्थापना गर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार पालिका स्तरमा कोरोना अस्पताल स्थापना भए पनि जनशक्ति अभाव देखिएको छ । 


 
प्रत्येक पालिकाले एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीका लागि कर्मचारीको विज्ञापन गरेका थिए । मालिका गाउँपालिकाले मात्र सबै जनशक्ति पाएको छ । एक स्टाफ नर्स र एक  कार्यालय सहयोगीका लागि मात्र आवेदन परेकाले विज्ञापनको म्याद थप गर्न लागिएको धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए ।  


‘मौजुदा जनशक्तिलाई परिचालन गरेर कोरोना अस्पतालको सेवा सुरु गरिहाल्ने तयारीमा छौँ’, उनले भने, ‘छोटो अवधिका लागि दुर्गममा आएर सेवा गर्न चिकित्सकले रुचि देखाएनन् ।’

 

जोखिम भएकाले पनि स्वास्थ्यकर्मी कोरोना अस्पतालमा काम गर्न डराएर आवेदन नपरेको हुन सक्ने शर्माको अनुमान छ । अन्य पालिकाहरूले पनि कोरोना अस्पताल संचालनका लागि चिकित्सक खोजिरहेको बताएका छन् । 

 

तीन महिनासम्मका लागि कोरोना अस्पताल स्थापना र संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीका पाँच स्थानीय तहलाई  १०/१० लाख रुपैयाँ पठाएको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी  उमाकान्त अधिकारीले संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन तथा सहज उपचारका लागि गाउँपालिकामा कोरोना अस्पताल र आइसोलेसन स्थापना भए पनि जनशक्ति अभाव चुनौती बनेको बताए ।

 

‘सदरमुकाम बेनीको अस्पतालमा दुई भेन्टिलेटरसहित पाँच शय्याको आईसीयू र २० शय्याको आइसोलेसन छ’, उनले भने, ‘पालिकाले पाँच शय्याको कोरोना अस्पताल, १५ शय्याको प्रि-आइसोलेसन र ५० क्षमताको क्वारेन्टाइन बनाएका छन् ।’ 

 

मंगला गाउँपालिकाले अर्मन स्वास्थ्य चौकीको भवनमा कोरोना अस्पताल स्थापना गरी संचालनसमेत गरिसकेको छ । मालिकाले दरबाङमा पाँच शय्याको कोरोना अस्पताल र १५ शय्या क्षमताको प्रि-आइसोलेसन स्थापना गरेको उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।   

 

मुनाको घट्टखोलास्थित सामुदायिक भवनमा १० शय्या क्षमताको आइसोलेसन बनाएको धवलागिरिले ताकम स्वास्थ्य चौकीमा कोभिड अस्पताल संचालन गर्ने तयारी थालेको छ । धवलागिरिका अध्यक्ष थमसरा पुनले कोरोना अस्पताललाई साधारण अस्पतालमै रूपान्तरण गर्ने गरी जनशक्ति व्यवस्थापन गर्न लागिएको जानकारी दिइन् ।   


रघुगंगाले पिप्ले र अन्नपूर्णले नारच्याङमा कोरोना अस्पताल स्थापना गरेका छन् । औषधि, अक्सिजन सिलिन्डर, बेडलगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको छ । लक्षण नभएका संक्रमितलाई प्रि-आइसोलेसन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी एवं पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सन्तु कार्कीले बताइन् । 

 

करिब दुई हजार स्वाब नमुनाको परीक्षण गर्दा १२२ जनामा कोरोना पुष्टि भएको, दुई जनाको ज्यान गएको म्याग्दीमा हाल ३५ सक्रिय संक्रमित छन् । समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि बेनी, मंगला एवं मालिका गाउँपालिका, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा बन्द गरेर सचेतनामूलक अभियान संचालन गरिएको छ ।


कोरोना अस्पताल संचालनका साथै जनचेतना अभिवृद्धिका कारण कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापन सहज हुने धवलागिरि- ३ मुनाका यामबहादुर भण्डारीले बताए ।