close

नेपालकै ठूलो क्रिकेट रंगशाला बनाउँदै सैनामैना 

नेपालकै ठूलो क्रिकेट रंगशाला बनाउँदै सैनामैना 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकामा नेपालकै ठूलो र नमुना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना- ७ लम्टैयामा रहेको करिब १५ बिघा जग्गामा उक्त रंगशाला बनाइन लागेको हो ।


रंगशाला निर्माण काम नगरपालिकाले अगाडि बढाएको छ । गत वर्ष मैदानका लागि ३० लाख रुपैयाँको बजेटमा माटो कटिङ, शौचालय र ड्रेसिङ रुम निर्माण भइसकेको छ । यस वर्ष एक करोडको बजेटमा थप माटो कटिङ, तारबार र डीपीआर निर्माण भइसकेको नगरपालिकाले बताएको छ । 


सैनामैनाले उक्त रंगशालाको डीपीआर तयार पारी निर्माण अगाडि बढाउन सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । कुल लागत दुई अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको रंगशाला निर्माणका लागि ९४ हजार ८१७ वर्गमिटर क्षेत्रफल समेटेर डीपीआर तयार गरिएको छ ।


गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किलोमिटर उत्तरमा निर्माण हुने उक्त रंगशाला नेपालकै सबैभन्दा ठूलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ । 


स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा उक्त रंगशाला निर्माण सम्पन्न गरिने लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नेपालकै गौरवको आयोजनाको रूपमा बजेट व्यवस्थापन गरेर निर्माण गर्ने योजना छ’, प्रदेशसभा सदस्य ढकालले भने ।


खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले क्रिकेट रंगशाला निर्माण गर्न लागिएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।


निर्माणाधीन क्रिकेट रंगशाला भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नजिकै रहेकाले भविष्यमा अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्न सहज हुने नगरप्रमुख कार्कीको विश्वास छ ।


‘बजेट व्यवस्थापन गरेर यसै वर्ष ठेक्का प्रक्रियामा जाने सोच छ । करिब छ महिनाको स्थलगत अध्ययन गरी रंगशालाको डीपीआर तयार गरिएको हो’, सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले भने । 


रंगशाला व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष किशोर राना निर्माणाधीन रंगशाला सम्पन्न हुँदा यस क्षेत्रको गरिमा बढ्नुका साथै क्रिकेटको माध्यमबाट सैनामैनाले मुलुकलाई चिनाउने बताउँछन् ।

 

सैनामैनामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न भौगोलिक रूपले पनि उचित रहेको क्राउन डिजाइन एन्ड रिसर्च सेन्टर काठमाडौंका प्रमुख इन्जिनियर सुनिल लम्सालले बताए ।

 

‘रूपन्देही क्रिकेट खेलाडीको उर्वर थलो र अन्तर्राष्ट्रिय एयरपोर्ट पनि नजिकै भएकाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्न सकिनेछ’, इन्जिनियर लम्सालले भने ।