close

मर्स्याङदीको हर्सिङडाँडाबाट प्याराग्लाइडिङ सरर...

मर्स्याङदीको हर्सिङडाँडाबाट प्याराग्लाइडिङ सरर...

Trulli
ADVERTISEMENT

लमजुङ - लमजुङको मर्स्याङदी गाउँपालिकामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण भएको छ । मर्स्याङदी गाउँपालिका- ३ हर्सिङडाँडाबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण भएको हो । ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङडाँडाबाट उडान भरेको प्याराग्लाइडिङलाई पाइलटहरूले सफल अवतरण गराएका छन् । 

 

पालिकाभित्र रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलको थप प्रवद्र्धन र प्रचार-प्रसार गर्न प्याराग्लाइडिङ उडान परीक्षण गरिएको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । ‘हर्सिङडाँडाबाट मर्स्याङदी-८ भुलभुलेको कुवापानीमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको हो’, उनले भने । 

 

मर्स्याङदीले पोखरास्थित ओपन स्काई प्याराग्लाइडिङ प्रालिको समन्वयमा परीक्षण गरेको हो । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार दुई प्याराग्लाइडरले उडाएका थिए ।

 

ओपन स्काई प्याराग्लाइडिङका टेन्डम फ्लाइट पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई लिएर र सोलो फ्लाइट पाइलट सुमन मगर एक्लैले प्याराग्लाइडिङ उडाएका थिए ।

 

हर्सिङडाँडा सरदार भक्ति थापाले गाईवस्तु चराउने ठाउँको रुपमा चिनिएको र त्यहाँ विभिन्न प्रकारका पुराना वस्तु रहेकाले अध्ययनको केन्द्र बन्ने अपेक्षा गाउँपालिकाको छ । 

 

प्याराग्लाइडिङले पर्यटकलाई आकर्षित गर्ने र गाउँपालिकाको पर्यटन विकासमा ठूलो सहयोग गर्ने उनको दाबी छ । टेन्डम फ्लाइट पाइलट रानाका अनुसार हर्सिङडाँडाबाट सफल परीक्षण भएपछि अब नियमित प्याराग्लाइडिङ गर्न सकिनेछ । 

 

मर्स्याङदी वडा-३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेत पालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्लाइडिङले सघाउ पुग्ने बताउँछन् । हर्सिङडाँडामा दैनिक ४०-५० को संख्यामा पर्यटन घुम्ने आउने गरेका छन् । उनका अनुसार हर्सिङडाँडा मर्स्याङदी- ३ खुदीबजारबाट साढे १२ किलोमिटर दूरीमा पर्छ । 

 

हर्सिङडाँडामा वीर भक्ति थापाले छेलो हालेको, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदानलगायत छन् । हर्सिङडाँडाबाट बुद्ध, हर्कपिक, ङादी पिक, हिमचुली, लमजुङ, माछापुच्छ्रे लगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ । ऐतिहासिक महत्व रहेको र प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई आकर्षित पार्ने बस्नेतले बताए । यसको विकासका लागि समिति बनाएर अघि बढ्ने उनले भनाइ छ ।


हर्सिङडाँडा सुमद्री सतहदेखि दुई हजार दुई सय ६० मिटर उचाइमा छ । लमजुङमा यसअघि विभिन्न मेला तथा महोत्सव अवसरमा मात्र प्याराग्लाइडिङ उडान गरिँदै आएको छ । यसलाई व्यावसायिक रुपमा अगाडि बढाउन सके पर्यटन प्रवर्द्धन हुने व्यवसायी बताउँछन् ।

 

प्याराग्लाइडिङका लागि लमजुङको गाउँसहर डाँडा, पुमा डाँडा, भाचोक डाँडा, राइनासकोट, तुर्लुङकोटलगायत स्थान उपयुक्त रहेका छन् ।