close

मैवाखोलामा हट्दै फुसका छाना, टल्किँदै जस्तापाता

मैवाखोलामा हट्दै फुसका छाना, टल्किँदै जस्तापाता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ३० वटा घरको खरको छानो विस्थापन गरिएको छ । नागरिक आवास जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका पर्यटनमन्त्री योगेशकुमार भट्टराईले खरको छानो विस्थापन भएका परिवारलाई टिनको छानासहितको घर हस्तान्तरण गरेका हुन् ।

 

सघन शहरी तथा भवन निर्माण आयोजनाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत मैवाखोला गाउँपालिका वडा नं.- ३ साँघुको ओदकका ३० वटा घर परिवारको फुसको छानो हटाई च्यादर लगाउने कार्यको अगुवाइ गरेको थियो । 


सघन शहरी तथा भवन निर्माण आयोजना झापाका डिभिजनल प्रमुख राजेन्द्र खतिवडाका अनुसार मैवाखोला गाउँपालिकाका १७४ फुसको घर जस्तापाताले छाउने गरी कार्यक्रम स्वीकृत भएको छ । तीमध्ये पहिलो चरणमा ३० घर परिवारको फुसको छाना विस्थापन गरिएको हो । डिभिजनल प्रमुख खतिवडाका अनुसार फुसको छानो हटाउने कार्यका लागि सरकारले प्रति घरपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउँछ ।

 

उनका अनुसार मैवाखोलासहित ताप्लेजुङका नौ स्थानीय तहका एक हजार ८१४ घरमा रहेको फुसको छाना विस्थापन गरिनेछ, जसअनुसार फुङ्लिङ नगरपालिकामा १९०, फक्ताङ्लुमा २४५, सिरिजङ्घामा १६७, सिदिङ्वामा २९०, पाथीभरा याङ्वरकमा २००, मेरिङ्देनमा १८८, आठराई त्रिवेणीमा २१३ र मिक्वाखोलामा १४७ घरपरिवारको फुसको छाना हटाएर च्यादर लगाइँदै छ । 


सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो विस्थापन कार्यक्रम कार्यविधिअनुसार जिल्लाका संघीय सांसदमध्ये वरिष्ठ सदस्य समन्वय समितिका संयोजक हुनेछन् । भट्टराई संघीय संसदमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन् । उनी २०७४ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । 


संघीय सांसदमध्ये वरिष्ठ सदस्य संयोजक हुने समितिमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला समन्वय अधिकारी र जिल्लाभरका सबै पालिकाका प्रमुख/अध्यक्ष सदस्य रहने प्रावधान छ । खरको छानो विस्थापन कार्यक्रममा समावेश हुने वा यस कार्यमा सरकारबाट सहयोग पाउने सेवाग्राही छान्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत र एक जना इञ्जिनियरसमेतलाई बैठकमा आमन्त्रित सदस्यको रूपमा बोलाउने गरिन्छ ।

 

मैवाखोला गाउँपालिकाका अध्यक्ष राजनकुमार थत्लुङले पालिकाभित्रका विपन्न, असाहाय र एकल महिलासमेतका गरी अघिल्लो आवमा ३० घरलाई सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छाना विस्थापन गर्न सकिएको बताए ।