close

देवदहका विद्यालय बने क्वारेन्टाइनशून्य

देवदहका विद्यालय बने क्वारेन्टाइनशून्य

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको देवदह नगरपालिका कार्यपालिकाको निर्णयअनुसार नगरभित्रका संस्थागत तथा निजी विद्यालय तथा क्याम्पसहरूमा अटोमेटिक स्यानिटाइज मेसिन वितरण गरिएको छ । नगरप्रमुख र उपप्रमुखले अटोमेटिक मेसिन सञ्चालन कार्यक्रम  संयुक्त  सुरु गरेका हुन् ।


कोरोनाको सुरुवाती दिनमा नगरले विद्यालयहरूलाई क्वारेन्टाइनको रूपमा सञ्चालन गरे पनि पछिल्लो समय तिनलाई विभिन्न सामाजिक भवनमा स्थानान्तरण गरिएको छ । ‘कोरोना संक्रमित/आशंकित बसेका विद्यालयलाई स्यानिटाइज गरेर सकेसम्म सञ्चालन गर्ने तयारीमा छौं’, नगरप्रमुख हीराबहादुर खत्रीले भने ।


उनले नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि कार्ययोजना बनाइरहेको र सामुदायिक विद्यालयप्रति नागरिकको धारणा परिवर्तन हुने गरी कार्यनीति बनिरहेको बताए ।


‘बाल शिक्षामा अध्यनरत विद्यार्थी खाजा कार्यक्रम, कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि निःशुल्क नास्ता, टिनको छानामुनि अध्ययन गरिरहेका विद्यार्थीका लागि फल सिलिङको व्यवस्थासहितको कक्षाकोठा र पाठ्यपुस्तक वितरणका काम भइरहेका छन्’, नगरप्रमुख खत्रीले भने ।


विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने कामसमेत अघि बढेको उनले जानकारी दिए । नगर उपप्रमुख विद्यादेवी गुरुडले शिक्षाको गुणस्तर सुधार्न आवश्यक दरबन्दी, निःशुल्क खाजा, पाठय्पुस्तकलगायतका सुविधा उपलब्ध गराइँदै आएको दाबी गरिन् । 


संघीय सरकारको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ अनुरूप विद्यालय खोल्न तयार रहनसमेत विद्यालयलाई नगरप्रमुख खत्रीले निर्देशन दिए ।हाल नगरको देवदह आदर्श बहुमुखी क्याम्पस भवनलाई आइसोलेसनका रूपमा सञ्चालन गरिएको छ । छठ पर्वलगत्तै स्वास्थ्यका सबै मापदण्ड पालना गरी विद्यालयमा मास्क र स्यानिटाइजर अनिवार्य गरेर नगरभित्रका विद्यालय सञ्चालन गर्ने तयारी नगरपालिकाको छ ।


नगरमा ३० सामुदायिक विद्यालय, १७ संस्थागत विद्यालय र एक बहुमुखी क्याम्पसमा अटोमेटिक स्यानिटाइजर मेसिन वितरण गरिनेछ । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, नगर शिक्षा शाखाका अधिकृत नारायण पोखरेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिकालगायत उपस्थित थिए ।