close

माटाे चिनाउने  शिक्षा  दिँदै बुटवल उपमहानगर

माटाे चिनाउने  शिक्षा  दिँदै बुटवल उपमहानगर

Trulli
ADVERTISEMENT

रुपन्देही - बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रमको अवधारणाअनुरुप नयाँ पाठ्यपुस्तक सार्वजनिक गरेको छ । गत असारदेखि नै विद्यालयमा पठनपाठन भइरहेका पाठ्यक्रमअन्तर्गतका पुस्तक निर्माण गरेर सार्वजनिक गरिएको हो ।
 
उपमहानगरप्रमुख शिवराज सुवेदीले शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउने गरी पाठ्यपुस्तक तयार पारिएको बताए ।
 
केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमको विषयवस्तु छनोट गरी तहगत पाठ्यपुस्तक तयार पारिएको प्रमुख सुवेदीले जानकारी दिए ।
 
‘स्थानीय मौलिकता, पहिचान र महत्वलाई दर्शाउँदै माटोअनुरुपको उचित शिक्षाको खाँचो छ । बुटवल र सेरोफेरोको ऐतिहासिक महत्व झल्काउने गरी पुस्तक निर्माण गरेका हौं’, उनले भने ।
 
बुटवलको पाँच वर्षे शैक्षिक योजनाअन्तर्गत सबै सामुदायिक विद्यालयलाई मन्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयलाई समेत पाठ्यक्रममा समेटिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरूको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । कार्यदलले ०७५ असारमा तयार पारेको पाठ्यक्रम सय पूर्णाङ्कको छ ।

 

सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकलाई मंगलबार सार्वजनिक गरिएको हो । स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तक बुटवल उपमहानगरका ३८ सामुदायिक विद्यालय र ५८  संस्थागत विद्यालयमा पढाइ हुनेछ । यसका लागि उपमहानगरले विद्यालयका प्राचार्यहरूलाई अभिमुखीकरण गरिसकेको छ ।
 

बुटवल सेरोफेरो, पर्यटकीय स्थल, हाम्रो संस्कृति, हाम्रो आस्था, संघ-संस्थाहरू, योग र प्राकृतिक चिकित्सा तथा जडीबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ । यिनै क्षेत्रलाई समेटेर कक्षा १ देखि ५ सम्म पठनपाठन गराउने गरी पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।


कक्षा ६-८ का लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या प्रमुख मित्रमणि खनालले जानकारी दिए । ‘प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्मलाई आधारभूत तह एवं कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहका रुपमा लिएर सोहीअनुरुपका पाठ्यक्रम र पुस्तक तयार पारिएको हो’, खनालले भने । 

 

पाँचवर्षे शैक्षिक योजनामा ९ देखि कक्षा १२ सम्मको पढाइलाई प्राविधिक शिक्षाको रुपमा व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयलाई सेक्टर वेसमा समायोजन गर्दै लैजाने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

 

तीन थरी शिक्षा पढाउँदै उपमहानगर 

 

बुटवल उपमहानगरले आगामी पाँच वर्षभित्र उमेर समूहका प्रत्येक बालबालिका, व्यक्ति अनि समुदायलाई उत्पादनमूलक, व्यावहारिक तथा सीपयुक्त, व्यावसायिक र प्राविधिक शिक्षाको पहुँचमा पुर्‍याउने नीति लिएको छ । सोही नीतिअनुरुपका पाठ्यक्रम तयार पारिएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए । 

 

बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक विशेषज्ञहरूको संलग्नता गराई ‘बुटवल नगर शिक्षा योजना’ तयार पारेको थियो । आगामी पाँच वर्षभित्र प्रत्येक वालबालिका, व्यक्ति र समुदायलाई उत्पादनमूलक तथा व्यावहारिक शिक्षामा  पहुँच पुर्‍याउन यस्तो शिक्षा योजना बनाइएको प्रमुख सुवेदीले बताए ।


शैक्षिक मुद्दालाई प्राथमिकताका आधारमा समाधान गर्न प्रदेश तथा उपमहानगरभित्रका जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालयहरू, प्राविधिक तथा सीपमूलक शिक्षण संस्था, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकलगायत सरोकारवालासँग  छलफल चलाएर शिक्षा योजना र पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।