close

भत्ता नपाएपछि चाडपर्वमै बेखर्ची भए वृद्ध बाआमा

भत्ता नपाएपछि चाडपर्वमै बेखर्ची भए वृद्ध बाआमा

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएकाहरू चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाउँदा बेर्खची भएका छन् । दशैं-तिहारमा पनि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरू बेर्खची भएका हुन् ।  


ज्येष्ठ नागरिक संघ जुम्ला अध्यक्ष तीर्थराज भारती भन्छन्, ‘वर्षमा एक दिन आउने चाडपर्वमा सामाजिक सुरक्षा भत्ता नपाउँदा बेखर्ची भयौं । जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा-सुविधा समयमै लिन्छन् । तर, लक्षित वर्गले पाउने भत्ता वितरणमा चासो दिएनन् ।’

 

सरकारले उपलव्ध गराएको सामाजिक सुरक्षा भत्ता समयमै नदिँदा ज्येष्ठ नागरिकले चाडपर्वका लागि अरुसँग हात थाप्नुपर्ने अवस्था आएको उनको गुनासो छ । ‘ज्येष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्तै हो । त्यही पनि समयमा हात नपर्दा समस्यामा पर्‍यौं’, भारतीले भने ।  


नगरप्रमुख कार्तिका सेजुवाल भने सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको ढिलासुस्तीबारे जानकार रहेको बताउँछिन् । उनले भनिन्, ‘सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको लापरबाही र बदमासीका कारण दसैंमा पनि भत्ता उपलब्ध गराउन सकेनौं । तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन ।’

 

सामाजिक सुरक्षा फाँटमा भइरहेको बदमासीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको उनले जानकारी दिइन् । नगरपालिकाले पनि पटक-पटक स्पष्टीकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले बताए ।


 
चन्दननाथ नगरमा सात सय २० ज्येष्ठ नागरिक छन् । विधवा महिला तीन सय ४५, बालबालिका एक हजार चार सय र अपांगता भएका एक सय ६६ छन् । ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा दुई हजार भत्ता दिइएको छ । 


७० वर्षमाथिकालाई २ हजार र एक हजार उपचार खर्च दिइन्छ । एकल महिलालाई महिनामा दुई हजार र बालबालिकाले प्रतिमहिना ४ सय रुपैयाँ पाउँछन् ।