close

पालिकाभित्र पर्यटक भित्र्याउन होमस्टे स्थापना

पालिकाभित्र पर्यटक भित्र्याउन होमस्टे स्थापना

Trulli
ADVERTISEMENT

नवलपरासी - पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रचारप्रसारमा लागेको सरावल गाउँपालिकाले पालिकाभित्र पर्यटक भित्र्याउन होमस्टे स्थापनामा जोड दिएको छ । पर्यटनको समग्र विकास गर्दै पालिकाबासीलाई आत्मनिर्भर बनाउन घरबास (होमस्टे) निर्माणलाई जोड दिइएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । ‘होमस्टे सञ्चालन गर्न इच्छुकहरूलाई समावेश गरी तालिम दिन सुरु गरिएको छ’, चौधरीले भने ।

 

हाल नौ जनाले होमस्टे सञ्चालनका लागि आवेदन दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । उनले भने, ‘सोहीअनुसार सहजीकरण गर्न तयार छौं । सरावल-२ ककरपत्तनगर (जावा) स्थित कोलवृक्ष र जावा-कमलपोखरा सीमसार क्षेत्र नजिकै होमस्टे व्यवस्थापन गर्न लागिएको हो ।’

 

ककरपत्त नगरको उत्खनन र जावा पोखरामा चरा गणना गर्ने तयारी पालिकाको छ । सरावलमा बर्दघाटे शिवालय, बर्दघाटे कालिका, जावा कमल पोखरा, अत्रहट्टी कमल पोखरा, गोबरहियाँ कोटकी मन्दिर, अत्रहट्टी शिवालयलगायत क्षेत्र छन् ।

 

कोलीय गणराज्यको सज्जनेल नगर हालको बासा र सालबास नजिक  सायुगा नगर सरावल गाउँ रहेको पालिकाले बताउँदै आएको छ । होमस्टे सञ्चालनका लागि नवलपुरस्थित अमलटारीमा तालिम सुरु गरिएको छ ।

 

सरावल पूर्व-पश्चिम लोकमार्गदेखि भारतीय सीमासम्म जोडिएको पश्चिम नवलपरासीको एक मात्र पालिका हो । यहाँका अधिकांश क्षेत्र गाउँमा पर्छन् ।