close

बीमितले नै पाएनन् स्वास्थ्य बिमाको निःशुल्क औषधि

बीमितले नै पाएनन् स्वास्थ्य बिमाको निःशुल्क औषधि

Trulli
ADVERTISEMENT

जुम्ला - स्वास्थ्य परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला गएका चन्दननाथ-४ का वडाध्यक्ष जगदीश चौलागाईंलाई डाक्टरले बिरामी पुर्जामा लेखेको पाँच प्रकारका औषधीमध्ये २ किसिमको औषधी अस्पतालको फार्मेसीले दियो ।


बाँकी ३ प्रकारका औषधी बाहिरका निजी मेडिकलबाट किन्नू भन्ने जवाफ दिइयो । बाहिरी फार्मेसीबाट उनले  आठ सय ५० रुपैयाँको औषधी किने । स्वास्थ्य बीमितमध्ये उनी एक उदाहरण मात्र हुन् ।


जुम्लाका स्वास्थ्य बिमा गराएकाहरूले अस्पतालबाट वितरण गरिने निःशुल्क औषधी पाउन सकेका छैनन् । नेपालको सविधानमा आधारभूत स्वास्थ्य सेवालाई  नेपालीको मौलिक हकका रुपमा स्थापित गरिए पनि बिमा गरेकाले नै निःशुल्क सेवा पाउन नसकेका हुन् । परिवारमा आधारित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जुम्लामा मात्रै ४६ हजारले स्वास्थ्य बिमा गरेका छन् । 


सहज रुपमा स्वास्थ्योपचार सेवा पाउने आशमा स्वास्थ्य बिमा गरेका बीमितहरू नै बिमा रकमबाट उपचार गराउन अस्पताल गए पनि पैसा मागेपछि रित्तो हात फकिर्ने गरेका छन् । चौलागाईंजस्तै सयौं सेवाग्राहीले यस्तै  झमेला बेहोर्नुपर्छ । बीमितहरूले वार्षिक तीन हजार पाँच सय तिरेर एक लाखसम्मको औषधोपचार पाइने घोषण नारामा मात्र सीमित भएको उनीहरूको गुनासो छ । 


प्रतिष्ठानको  डिन नियुक्तिलगायत विषयमा विवाद भएपछि प्रतिष्ठानको प्रशासन, उपकुलपति, रजिस्ट्रार, डीनको कार्यकक्षमा २८ असोजदेखि तालाबन्दी गरिएको छ । प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्व शाही तालाबन्दीले अस्पताल प्रशासनमा समस्या नपारे पनि फार्मेसीमा औषधी मौज्दात न्यून भएकाले त्यसो भएको हुन सक्ने लख काट्छन् ।

 

‘चालू वर्षको औषधी खरिदको टेन्डर भइसकेको छ । तत्काल अपुग औषधी कोटेसनबाटै खरिद गरेर बिरामीको हात खाली पठाउने गरेका छैनौं,’ उनले भने । 


यसबारे प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले भने बेखबर छन् । प्रतिष्ठानमा तालाबन्दीलगायत स्वास्थ्य बिमा गरेका बिरामीले औषधी नपाएको विषयमा बुझ्न खोज्दा पछिल्लो समयमा उनले फोनै उठाएनन् ।