close

सदरमुकामबाट ६ घण्टा गाडी, सात घण्टा पैदल, तैपनि छन् ११ महल

सदरमुकामबाट ६ घण्टा गाडी, सात घण्टा पैदल, तैपनि छन् ११ महल

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीकै सबैभन्दा दुर्गम सिगास गाउँपालिकाले पालिका केन्द्र गर्जेमा अत्याधुनिक कार्यालय निर्माण गरेको छ । एउटा पसलको दुई कोठा भाडामा लिएर पालिकाका कामकाज सञ्चालन गर्दै आएको सिगासले अहिले आफ्नै सुविधासम्पन्न महल ठड्याएको हो ।


पालिकामा गाउँपालिका भवनका साथै ६ वटै वडा कार्यालयका भवन, एक प्रहरी चौकीसहित ११ नयाँ भवन निर्माण गरिएका छन् ।

 

बैतडीका ८४ मध्ये १२ वडाका मात्रै आफ्नै नयाँ भवन निर्माण भएकामा सिगासका ६ नयाँ वडा भवन बनेका छन् । वडा भवन १०–१० लाख रकममा निर्माण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए ।


‘सिगासमा अहिले निर्माण सम्पन्न भएका सबै भवन सुविधासम्पन्न छन् । गाउँपालिका भवन डेढ करोडको लागतमा निर्माण भएको हो । पुरुष कर्मचारी आवास ९० लाख र महिला कर्मचारी आवास ३५ लाखमा निर्माण भएका छन्’, धामीले भने ।


यस्तै, पालिका अध्यक्ष निवास ३२ लाख, प्रहरी चौकी ३३ लाखमा निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष धामीले भने, ‘हामीले गाउँपालिकाको प्रशासकीय भवन, प्रहरी चौकी, कर्मचारी आवास, अध्यक्ष निवासलगायतका संरचना निर्माण गरेका हौं ।’


आफ्नै भवनबाट काम गर्दा सहज भएको धामीले बताए । विगतमा भाडाका जीर्ण घरमा कार्यालय सञ्चालन गर्न कठिन रहेकामा अहिले आफ्नै भवन बनेपछि निकै सजिलो भएको उनले जानकारी दिए । धामीले भने, ‘पहिला सबै शाखाका काम एकै कोठाबाट गर्नुपर्ने अवस्था थियो । अहिले विषयगत शाखाका छुट्टै कार्यालयस्थापना गरेका छौं ।’


सिगासमा अहिले वडा–१, ३, ४, ५, ७ र ९ का सुविधासम्पन्न भवन बनिसकेका छन् । सदरमुकाम बाजुराबाट दुर्गम गाउँपालिका सिगास पुग्न संघीय राजधानी काठमाडौं पुग्नेजतिको समय लाग्छ । स्थानीयलाई सदरमुकामबाट सिगासको केन्द्र गर्जे पुग्न मात्रै ६ घन्टा गाडी यात्रा र थप सात घन्टा हिँड्नुपर्ने बाध्यता छ ।