close

रारामा पर्यटक बढेपछि घोडा व्यवसायी चम्किए  

रारामा पर्यटक बढेपछि घोडा व्यवसायी चम्किए  

Trulli
ADVERTISEMENT

मुगु - कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । कोरोनालाई भुलेर पर्यटक रारा क्षेत्र घुम्न जान थालेपछि यहाँको चहलपहल बढेको हो । 


रारा तालमा घुम्न आउनेको संख्यामा वृद्धि भएपछि मुगुका घोडा व्यवासायीको पनि रोजगारीको बाटो खुलेको छ । रारा तालको आसपास बसोवास गर्ने स्थानीयवासीहरूका घोडा पर्यटकले प्रयोग गर्न थालेका छन् । 


रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज छायानाथ रारा नगरपालिका- ८ का घोडा व्यवसायी पाथ्या रावलले दैनिक ५२५ रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । उनले घोडाबाट कमाएको रकमबाट घर खर्च चलाउनुका साथै छोराछोरीको पढाइ खर्च गर्ने गरेका छन् । 


कोरोना महामारीबाट बच्न गरिएको लकडाउनपछि गत चैतपछि रारा घुम्न पर्यटक नआउँदा पाथ्याले घर खर्च र घोडालाई दानापानी खुवाउन निकै समस्या भएको थियो । 


पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा निली किनारसम्म पुग्दा व्यावसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५००, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५०० र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन् । 


घोडा चढेको दर रेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ । घोडा चढेको दर रेट नहँुदा पर्यटकहरू ठगिने गरेको रारा घुम्न गएका आन्तरिक पर्यटक विश्वास उपाध्याय बताउँछन् ।


रारामा पर्यटकहरूको संख्या बढेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी बढेको छ ।


हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक ५० देखि ९० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत योग्यराज रोकायाले बताए ।