close

कोरोनालाई जितेर काममा फर्किए बेलकाका नगरप्रमुख थापा

कोरोनालाई जितेर काममा फर्किए बेलकाका नगरप्रमुख थापा

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा कोरोनालाई जितेर काममा फर्किएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै नगरप्रमुख कोरोनामुक्त भएको बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद चौधरीले जानकारी दिए । 


कोरोना पुष्टि भएपछि चौदण्डीगढी नगरपालिका- ६ सातधारेस्थित उदयपुर कोभिड- १९ अस्पतालको आइसोलेसनमा बसेका नगरप्रमुख थापाको तीन हप्तापछि रिपोर्ट नेगेटिभ आएको हो । स्थानीय सरकार प्रमुख भएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै र दूरी कायम गर्दै नगरपालिकाभित्रका काम कारबाही र जनताका दुःखसुखमा सँगसँगै साथ दिँदै हिँड्ने क्रममा कोरोना संक्रमण भएको थापाले बताए ।

 
‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि जचाउँदा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिनदेखि कोभिड अस्पताल बस्न थालेँ’, नगरप्रमुख थापाले भने, ‘सुरुमा मलाई नै कोरोना नलाग्दासम्म त यो केही होइन, साधारण रुघाखोकी मात्र हो जस्तो लाग्थ्यो । सामाजिक दूरी कायम गर्दा र स्वास्थ्य मापदण्ड पालना गर्दा केही हुन्न भन्ने लागेको थियो । अरूलाई पनि यस्तै गरी सचेत गराउँदै थिएँ तर जब आफैँलाई लाग्यो, मेरो सोचाइभन्दा ठीक उल्टो र फरक पाएँ मैले । ज्वरो र रुघाखोकी लाग्यो, जीउ दुख्यो अनि कमजोरी भयो ।’ 


अहिलेसम्म कोरोनाको खास औषधि पनि नबनेको अवस्थामा घरेलु उपचार नै यसको औषधि रहेको उनको भनाइ छ । तसर्थ यो समयमा उनले पनि बेसारपानी, गुर्जोपानी, ज्वानोपानी, महपानीलगायत भिटामिन सी प्राप्त हुने खाद्य पदार्थहरू सेवन गरेको बताए । ‘आइसोलेसनमा बसेर पुनः परीक्षण गराउँदा मेरो रिपोर्ट नेगेटिभ आयो । अब म आफ्नो नियमित काममा फर्किएको छु’, उनले भने ।


कोरोनालाई सामान्य रूपमा नलिन अनुरोध गर्दै नगरप्रमुख थापाले भने, ‘म सबै नगरवासीलाई के भन्छु भने, हामी कसैले पनि यो कोरोनालाई कमजोर रूपमा नठानौँ । जसलाई पर्छ, उसलाई मात्र वास्तविकता र पीडा थाहा हुने रहेछ ।’

 

पछिल्लो समय मृतकको संख्या पनि बढिरहेको र अस्पतालहरूमा बेड तथा आईसीयू र भेन्टिलेरहरू समेत नपाउने अवस्था सिर्जना भएको भन्दै उनले समयमा नै यसबाट सावधानी अपनाउन सके बच्न सकिने र लापरबाही गरेमा ज्यान जाने भएकाले सचेत रहन अनुरोध गरे ।


आइसोलेसनमा बसेकालाई केही समस्या परे सिधा आफूलाई फोन गर्न उनले आग्रह गरे ।