close

विद्यालयका व्यवस्थापन समिति गठनका लागि १५ पुससम्मको म्याद

विद्यालयका व्यवस्थापन समिति गठनका लागि १५ पुससम्मको म्याद

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले म्याद समाप्त भएका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समितिलाई नयाँ समिति गठन गर्न १५ पुससम्मको समायावधि दिएको छ । 


गाउँपालिकाको शिक्षा शाखाले बुधबार विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा सूचना जारी गर्दै मध्य पुसभित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न भनेको हो । शिक्षा अधिकृत जयप्रसाद रिजालद्वारा जारी सूचनामा गाउँपालिकाको शिक्षा ऐन, २०७६ अनुसार विव्यस गठन गर्न प्रक्रिया अघि बढाई सोको जानकारी गाउँपालिकाको शिक्षा शाखालाई दिन भनिएको छ । 


गाउँपालिका शिक्षा समितिको २६ कात्तिकमा बसेको बैठकले म्याद समाप्त भएका सबै सामुदायिक विद्यालयहरूमा ५ पुसभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलका हिसाबले प्रदेश १ कै ठूलो तथा देशकै तेस्रो ठूलो गाउँपालिका हो । 


ताप्लेजुङको करिव ५१ प्रतिशत क्षेत्रफल ओगटेको यस पालिकाका विद्यालयसमेत छरिएर रहेकाले विव्यस गठनका लागि करिव डेढ महिनाको अवधि दिइएको गाउँपालिकाका शिक्षा अधिकृत रिजालले जानकारी दिए । 

फक्ताङ्लुङ यहाँका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिला शिक्षा ऐन तयार गरी कार्यान्वयनमा लैजाने पालिका हो ।