close

बाग्लुङका स्थानीय तहमा संचालित अवैध क्रसर उद्योग कारवाहीमा

बाग्लुङका स्थानीय तहमा संचालित अवैध क्रसर उद्योग कारवाहीमा

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङ प्रहरीले अवैध रूपमा संचालित ढुंगाखानी, क्रसर उद्योग र जथाभावी उत्खनन गरिएका बालुवा तथा निर्माण सामग्री नियन्त्रण गर्न सुरु गरेको छ । ढुंगागिटी तथा बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ पालना नगरेका उद्योगलाई कारबाही गरिने प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । 


जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना संयोजक, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी उपरीक्षक श्रेष्ठसहित जिल्ला अनुगमन समितिले बाग्लुङका क्रसर र नदीजन्य वस्तुको उत्खननबाट अवैध र दोहन भएको भेटेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको हो । अधिकांशले मापदण्ड पालना नगरेको भेटिएको समितिका सदस्यले बताए । अनुगमनमा देखिएका विषयमा केही दिनमै समितिको औपचारिक बैठक बसेर कारवाहीकाे प्रक्रिया थालिनेछ ।


पहिलो चरणमा अनौपचारिक अनुगमन भएको हो । ‘अनुगमनका क्रममा गलकोट नगर र बडिगाड क्षेत्रमा बढी समस्या देखियो’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘गलकोटमा दुई क्रसर उद्योग विनादर्ता संचालनमा रहेछन् । बडिगाड गाउँपालिकाको विभिन्न स्थानबाट खोलामा जथाभावी मेसिन लगाएर बालुवा उत्खनन गरेको भेटियो ।’


समितिले गलकोट नगरपालिका- ६ को दरमखोला नजिक सिद्धभैरव क्रसर उद्योग र वडा- ११ को ढोरपाटन उद्योग एन्ड कन्स्ट्रक्सनलाई उद्योग संचालनका लागि आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ । उनीहरूले उद्योग दर्ताको दाबी गरे पनि अनुगमन टोलीलाई तत्काल कागजात देखाउन सकेका थिएनन् ।

 

त्यसपछि नगरपालिकालाई अनुरोध गरेर नियमन गर्न भनिएको ढुंगानाले बताए । अनुगमनका क्रममा अधिकांश क्रसर चलाउन स्थानीय पालिकाले वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी व्यवस्था नगरेको भेटिएको हो । ‘हामीले पालिकालाई सहयोग गर्ने हो । उहाँहरूले नीति बनाएर नियमन गर्नुहुन्छ’, श्रेष्ठले भने, ‘सुरक्षाको काम पर्दा हामीले सहयोग गर्नुपर्छ ।’ 


स्थानीय पालिकामा नीति बनाएर राजस्व संकलन गर्ने र नियमअनुसार उत्खनन गर्न दिन पाउने प्रावधान छ । तर, पालिकाले विधि बनाउन ढिला गरेकै समय ठेकेदारहरूले भने जथाभावी दोहन गरिरहेको भेटिएको हो । 


आवश्यक कागजात पेस गर्न लगाइएका केही क्रसर उद्योगबाहेक अनुमति र राजस्व नतिरी मेसिन लगाएर खोलामा ढुंगा, गिटी निकालेको भेटिएको श्रेष्ठले बताए । ‘अवैध उत्खनन सामग्री जफत गरेर पालिकालाई नियमअनुसार बिक्री गर्न आग्रह गरेका छौँ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने ।


जिल्लामा प्रहरी प्रमुख भएर आएका श्रेष्ठले गैरकानुनी क्रियाकलाप नियन्त्रणमा अगुवाइ गरेका छन् । उनकै नेतृत्वमा जुवातास नियन्त्रण, फरार अभियुक्त पक्राउ जस्ता काम पनि थालिएको छ । दुई महिने अवधिमा जिल्ला प्रहरीले ११६ फरार अभियुक्त पक्राउ गरेको बताएको छ । उनीहरूले तिर्ने जरिमाना र जेल सजाय पाउन थालेका छन् ।

 

एक महिनादेखि बजार र राजमार्ग क्षेत्रमा प्रहरीको गस्ती बढेको छ । श्रेष्ठले प्रहरीमा एमसीसीपी कार्यक्रम लागू गरेको बताए । मिसन, क्राइम कन्ट्रोल र पेट्रोलिङ अभियानबाट अपराध नियन्त्रण गर्न थालिएको उनको दाबी छ । 


अवैध क्रसर र उत्खनन नियन्त्रणका लागि पालिकामा अनुरोध गरेपछि सबैले विधि बनाएर स्थानीय तहमै राजश्व आउने व्यवस्थापन गर्ने आश्वासन दिएको ढुंगाना बताउँछन् । नदीदेखि ५०० मिटर दूरीमा क्रसर राख्नुपर्ने, नदीमा खनीखोस्री मात्र गरेर सामग्री निकाल्न पाइने प्रावधान उल्लंघन हुन नदिन अनुगमन थालिएको हो ।


अघिल्ला वर्षहरूमा दोहनविरुद्ध सांसद र समितिले पहल गर्दा पनि प्रशासनले साथ नदिएको टिप्पणी भइरहेको थियो ।