close

हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्युट फुटसल

हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्युट फुटसल

Trulli
ADVERTISEMENT

जुम्ला - कर्णालीको हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्युट फुटसल सञ्चालनमा आएको छ । सदरमुकाम खलंगा समुद्री सतहदेखि २ हजार ३ सय ७५ मिटर उचाइमा रहेको छ । कर्णाली प्रदेशकै दोस्रो तथा ठूलो फुटसल निजी लगानीमा निर्माण गरिएको हो । चन्दननाथ नगरपालिका-५ कालेखोलीमा ९५ लाख लगानीमा निर्माण गरिएको फुटसलको बुधबार औपचारिक उद्घाटन गरिएको छ । 


अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंह, २४ नम्बर वाहिनीका वाहिनीपति यामबहादुर सापकोटा, चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललगायतले संयुक्त रुपमा फुटसल उद्घाटन गरेका थिए । 


स्थानीय निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख संयुक्त लगानीमा फुटसल निर्माण गरी सञ्चालनमा ल्याएको हो । फुटसल सञ्चालक प्रकाश शाही भन्छन्, ‘दुई वर्ष पहिलेको पूर्वतयारीअनुसार फुटसल निर्माण गरेका हौं । ११ महिने अवधिमा सबै सामग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई खेल क्षेत्रबाट चिनाउने उद्देश्यका साथ फुटसल निर्माण गरिएको हो ।’ 


फुटसल मैदानभित्र खेल्न प्रतिघन्टा  १५ सय लाग्नेछ । ‘तत्कालका लागि व्यवसायिक रुपमा सञ्चालन नभए पनि ढिलोचाँडो खेल क्षेत्र सबैका लागि अपरिहार्य छ । जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेका हौं’, सञ्चालक भारतीले भने । पानी, शौचालय, क्यान्टिन, वाचमेन रुमसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ । 


एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले निजी लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रमा इँटा थपेको बताए । उनले भने, ‘पूर्वाधार अभावमा खेल क्षेत्र ओझेल परेको छ । तीन तहका सरकार हुँदाहुँदै पनि जुम्लाका तीन समाजसेवीले व्यक्तिगत लगानीमा खेल क्षेत्रको प्रवद्र्धनका लागि गरेको योगदान प्रशंसनीय छ ।’


एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहका जुम्ला कृषि, पर्यटनसँगै खेल क्षेत्रका लागि पनि पर्याप्त सम्भावना भएको ठाउँ भएकाले निजी तथा सरकारी लगानीमा ठूला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गति दिन आवश्यक लगानी गर्न तयार रहेको बताइन् । 

 

स्थानीय स्तरमा खेल आयोजना गर्न निर्देशन


अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थानीय स्तरमै फुटबल प्रतियोगितालाई प्राथमिकताका साथ सञ्चालन गर्न निर्देशन दिए ।


खेलकुद विकास समितिको स्वागत कार्यक्रममा उनले भने, ‘६ वर्षदेखि १२ वर्ष उम्मेर समूहका हरेक बालबालिकालाई फुटबल खेलाउने हो । सानैदेखि खेलमा सहभागी गराए भोलि आफंै खेल्छन् ।’


आफू निर्वाचित भएपछि ग्रासरुट फुटबललाई प्राथमिकता दिएर अघि बढेको अध्यक्ष शेर्पाले बताए । उनले भने, ‘बालबालिका सधैं टिभी मात्रै हेर्छन्, अन्य कुरा गर्छन तर साताको शनिबार अनिवार्य फुटबल खेलाएमा भिन्नै बानी, भिन्नै शैली आचरण भएका बालबालिकाबीच भेट हुँदा नयाँ अनुभव गर्छन्, नयाँ सिक्छन् ।

 

त्यसैले पनि ग्रासरुट फुटबल आवश्यक छ ।’ जुम्लाको विरासतलाई कायम राख्न खेल क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय सरकारलाई लगानी गर्नसमेत उनले आग्रह गरे । खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले स्थानीय सरकारको असहयोगले जिल्लाको खेल क्षेत्रको विकासमा कठिनाइ भएको गुनासो गरे ।

 

तीन तहका सरकारमा  धाउँदा पनि सामान्य पूर्वाधार बनाउन  सहयोग नगरेको उनको भनाइ छ । ‘एक्लैले गरेर खेल क्षेत्रको विकास सम्भव छैन । त्यसका लागि सबैले साथ दिनुपर्छ’, उनले भने ।