close

अध्यक्ष र प्रधानाध्यापकले बाँडीचुँडी खाए शिक्षिकाको तलब

व्यवस्थापन समिति अध्यक्ष भन्छन्ः नियुक्ति नै दिएको छैन

अध्यक्ष र प्रधानाध्यापकले बाँडीचुँडी खाए शिक्षिकाको तलब

व्यवस्थापन समिति अध्यक्ष भन्छन्ः नियुक्ति नै दिएको छैन

Trulli
ADVERTISEMENT

बाजुरा - बूढीनन्दा नगरपालिका-३ मा रहेकाे कालिका आधारभूत विद्यालय भुल्यानामा विद्यालय व्यवस्थापन समिति बैठकको निर्णयले २०७४ को जेठमा निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षक निजी स्रोतबाट नियुक्त गर्‍यो । शिक्षकलाई ६ हजार पाँच सय तलब दिने निर्णय पनि भयो ।


२०७४ को शैक्षिक सत्र सकिएपछि २०७५ देखि स्कुलमा पहिलेको तलबमा काम गर्न नसक्ने जनाउ दिए पनि बढाउने आश्वासनपछि शिक्षकले पढाउनुपर्‍यो । तर, तलब नबढेपछि पढाउन आउँदिनँ भन्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अचाक्ली गरे- काम गरेको तलबै रोकिदिए ।

 

२०७५ पुस र माघमा पुनः समितिको बैठक बसेर परिचर तारा विक र निमावि शिक्षक सीता तिमिल्सिनालाई पाँच हजार तलब बढाउने निर्णय भयो । मौखिक रुपमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगवीर रोकायाले तलब ११ हजार ५ सय भए पनि १२ हजार दिन्छु भनेको तिमिल्सिना सुनाउँछिन् ।

 

२०७६ वैशाखदेखि अब पढाउनँ सक्दिनँ । तलब पनि दिनुहुन्न, उसैमाथि न्यूनतम पारिश्रमिक पाइनँ’, समितिका अध्यक्षसँग गुनासो राखें । उनले सुनेको नसुनेझैं गरे । स्कुल छाडूँ पहिले पढाएको पैसा लिन बाँकी छ, नछाडूँ तलबै रोकिदिए’, तिमल्सिनाको गुनासो छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगवीर रोकायाले शिक्षिका तिमिल्सिनालाई पूरै तबल नदिनू, पढाएर बसे मात्रै पहिलो वर्षको तलब पाउँछिन् । हैन भने पहिले पढाएको तलब नदिनू भनी प्रधानाध्यापलाई धम्की दिएको घटना पनि याेबीचमा बाहिर आएको छ ।


२०७५ चैतयता तलब नपाएकी तिमिल्सिनाले भनिन्, मेरो नामको तलब प्रधानाध्यापक र समितिका अध्यक्ष रोकायाले मिलेर खाएका हुन् । तलब लिएको भनी किर्ते भौचर बनाएर पाँच हजार दिएकामा १० हजार, १८ हजार दिएकामा २५ हजार बनाएर खाएको देखियो । यो कुरा प्रधानाध्यापक मानसिङ विष्टले स्वीकार गरेसकेका छन् । यसको फोन रेकर्ड मैसँग छ ।’ जिल्लामा अन्य तहमा पनि यसरी शिक्षकलाई निजी स्रोतमा राख्दै तलब नदिएर सताउने घटना बढेका छन् ।


मजस्तै पीडित भएका धेरैले यसरी स्कुल छाडेका रहेछन् । पूरा तलब नपाएकाहरु झनै पीडित छन् । व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक मिलेरै विद्यालयको पैसा आफूले चलाउने तर शिक्षकलाई तलब दिने गरेका छैनन् । छात्रवृत्तिको रकम हिनामिना गर्ने, स्कुल नपढ्ने बाहिरका विद्यार्थीको पनि नक्कली सर्टिफिकेट बनाउने र पैसा लिने गरेको छ’, शिक्षिका तिमिल्सिनाले दाबी गरिन् ।


तर, शिक्षा सरोकारवाला, विद्यालय निरीक्षक, स्रोत-व्यक्ति र नगरपालिका पनि यस विषयमा आँखा चिम्लिदिन्छन् । १२ चैत २०७५ सम्मको तलबमा २८ हजार पाउन बाँकी रहेको र त्यसपछि अहिलेसम्म एक सुको पनि नपाएको उनको गुनासो छ  

 

'२०७६ कात्तिक अन्तिम साता बिरामी भएपछि उपचारका लागि काठमाडौं गएकी थिएँ । २२ कात्तिकसम्म विद्यालयमा हाजिर छु । तर, तलब नदिने भनेर उर्दी जारी गरेका छन्,’ उनले भनिन्, ‘पुस पहिलो साता फर्किन्छु, तलब हालिदिनुस् भनेर अध्यक्षलाई फोन गरें । उनले हुन्छ भने । पैसा हाल्दिनँ बैंक आएको छु भने । तलब कहिल्यै हालिदिएनन् ।’


पटक-पटक फोन गर्दा कहिले प्रधानाध्यापक रक्सी खाएर पल्टेको छ, कहिले उसले चेकमा हस्ताक्षर गरेन भन्दै झुलाएको उनले बताइन् । हिउँदे बिदा भयो, लकडाउन भयो । अहिलेसम्म काठमाडौंमै रोकिनु परेको उनले सुनाइन् ।

 
तलब माग्दा उल्टै तपाईंलाई हाजिरी भएको दिनको हिसाब गरी दिन्छु, तपाईंको तलबै बढाएको छैन, पाउनुहुन्न भन्दै मानसिक तनाव दिँदै आएको तिमिल्सिनाले जानकारी दिइन् । ‘व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक मिलेर प्रमाण नष्ट गरेका छन् । बैठकमा गरेका निर्णयका रजिस्टर गायब गरिएका छन् । हाजिरी रजिस्टरसमेत गायब गरिएको,’ उनले भनिन् ।


तलब बढाएको निर्णय गर्ने बैठकका सहभागी तत्कालीन प्रधानाध्यापक नन्दु, समितिका सदस्य कपुर विक, शिक्षकहरु तारा, मनिचन्द्र पनि प्रमाण रहेको उनको दाबी छ।


नगरपालिकाले तलब खुवाउने गरी नियुक्त भएका मनिचन्द्र विकले उक्त निर्णयको फोटोकपी पनि नगरपालिकामै पेस गरेको उनले बताइन् । ‘उनले पेस गरेको त्यो निर्णयमा  मेरो तलब बढाएको विषय पनि समावेश छ । तर, पहिलेको तलब नदिएको अवस्थामा बढेको तलब दिन्छन् भन्ने विश्वास पनि अब हट्यो’, तिमिल्सिना दुःखी सुनिन्छिन् ।


१०/१० महिनासम्म तलब नदिएपछि न्याय पाऊँ भनी बूढीनन्दा नगरपालिकामा उजुरी गरेको उनले बताइन् । तर, उजुरी गरेको झन्डै एक महिना बितिसक्दा पनि निर्णय नभएको उनको भनाइ छ ।


बूढीनन्दासँग २०७५ माघको व्यवस्थापन समितिको निर्णय झिकाएर पाउनुपर्ने तलब उपलब्ध गराइदिन र समितिका अध्यक्ष रोकाया र विद्यालयका प्रधानाध्यापकविरुद्ध कारबाही गर्न उनले नगरपालिकामा उजुरी दिएकी छन् ।

 

अध्यक्ष भन्छन्ः नियुक्ति नै दिएको छैन

 

शिक्षिकाले तलव नपाएको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकायाको भने आश्चार्यजनक मत छ । उनी शिक्षिकालाई विद्यालयले औपचारिक रुपमा नियुक्ति नै नदिएको दावी गर्छन् ।


‘उहाँलाई आधिकारिक रुपमा नियुक्ति नै दिइएको होइन, तैपनि  विद्यालयको श्रोत हेरेर तलव वढाउन भनिएपनि श्रोत अभावमा तलव दिन नसकिएको हो,’ रोकायाले पालिकाखबरसँग भने, अब अर्को श्रोत जुटाएर तलव खुवाउन पर्ला ।’

 

शिक्षिकाले प्रधानअध्यापकसँग मिलेर आफ्नो तलव खाइदिएको आरोपभने झुटो भएको उनको दावी छ । आफुहरुले शिक्षकको तलव लिनुपर्ने अवस्था नै नरहेको उनको भनाइ छ ।

 

उता विद्यालय रहेको वुढीनन्द नगरपालिका वडा नम्बर ३ भुलेनाका वडाअध्यक्ष रामबहादुर बोहोरा भने शिक्षकालाई तलव नदिएको विषयमा अनविज्ञता प्रकट गर्छन । उनी विद्यालयले शिक्षका राखेको विषय नै आफुलाई थाहा नभएको बताउँछन् ।


मलाई यसरी शिक्षका राखिएको छ भन्ने विषयमा जानकारी नै थिएन, उहाँले उजुरी गरेपछि थाहा पाएको हुँ,’ वडा अध्यक्ष भन्छन्, के भएको हो व्यवस्थापन समितिका अध्यक्षसँग बसेर कुरा गर्छु, तलव नदिएको भए तलव दिनुपर्छ ।’

 

तलव नपाएको जानकारी पाएको भए आफुले वडाकै श्रोतबाट भएपनि व्यवस्थापन गरिदिने उनको भनाइ छ ।