close

भीमदत्त नगरमा ‘मेयर उद्यमशीलता’ कार्यक्रम 

भीमदत्त नगरमा ‘मेयर उद्यमशीलता’ कार्यक्रम 

Trulli
ADVERTISEMENT

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । नगरबासीलाई उद्यमी व्यवसायी बनाउन नेपाल बैंकसित सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिका र नेपाल बैंकले बिहीबार कार्यक्रम सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर गरे ।

 

भीमदत्तका नगरप्रमुख सुरेन्द्र विष्ट र नेपाल बैंक महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले सुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । 

 

भीमदत्तको सातौं नगरसभाबाट एक सयलाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिएको थियो । नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार उद्यम व्यवसाय गर्न चाहने नगरबासीका लागि बैंकसँग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरी कार्यक्रम अघि बढाएको हो । 

 

कार्यक्रममा कोरोना संक्रमणका कारण भारतसहित तेस्रो देशमा रोजगारी गुमाएका र रोजगारी पाउन नसकेका वासिन्दालाई प्राथमिकता दिइनेछ । उद्यम व्यवसाय गर्न चाहनेले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण  पाउन सक्नेछन् । बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिरिदिने सम्झौतामा उल्लेख छ । 

 

भीमदत्तका नगरप्रमुख विष्टले कोरोना संक्रमणका कारण भारतसहित तेस्रो मुलुकबाट घर फर्र्र्किएर रोजगार गुमाएका र रोजागरी पाउन नसकेकालाई उत्पादनसित जोड्न कार्यक्रम सञ्चालन गरिएको बताए । 


‘कोरोना संक्रमणका कारण भारतसहित तेस्रो देशबाट घर फर्किएर धेरै जनाको रोजगारी गुमेको छ, कति जनाले देशमै रोजगारी नपाएको अवस्था छ,’ विष्टले भने, ‘उत्पादनसित जोडे मात्र आर्थिक क्रान्ति आउँछ । त्यसैले उद्यमशीलता विकास गरी स्वरोजगार बनाउन कार्यक्रम ल्याएका हौं ।’

 

भीमदत्तको सातौं नगरसभाबाट कोरोना संक्रमणका कारण स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै नगरप्रमुख विष्टले उत्पादनसित जोडेर बजारीकरणसम्म सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताए । 

 

‘साताैं नगरसभाबाट एक सय युवालाई उद्यमी व्यवसायी बनाउने नीति नै हो । त्यसका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिएको छ,’ विष्टले भने, ‘अब यो कार्यक्रमले सानो पुँजी लगाएर पनि व्यवसाय गर्न सकिने हौसला मिल्छ ।’

 

भीमदत्तले भारतसहित तेस्रो मुलुकबाट फर्केकालाई सहयोग गर्न यसअघि नै क्वारेन्टिनबाट गर्न चाहने व्यवसायका लागि लगत संकलन गरिसकेको छ । नगरपालिकाका अनुसार नगर क्षेत्रका ११ हजारभन्दा बढीको फाराम संकलन गरिएको छ । 

 

भीमदत्त नगरपालिका र बैंकबीच कृषि, गैरकृषि, पशु पालन र जडीबुटीलगायत व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । व्यवसायीले बिनाधितो बैंकबाट ऋण लिएपछि ब्याज तिर्नुपर्ने छैन । भीमदत्तले ऋणीको ब्याज तिरिदिनेछ । 


भीमदत्तले उद्यम व्यवसाय गर्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराउनुअघि बैंकमा कोष स्थापना गर्ने सम्झौता छ । नगरपालिकाले कोषमा जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिन लागेको हो । त्यसका लागि यस वर्ष नगरपालिकाले बैंकको कोषमा एक करोड रकम जम्मा गर्न लागेको छ । 

 

नगरप्रमुख विष्टले पहिलो चरणमा कोषमा एक करोड रकम जम्मा गरी कार्यक्रम अघि बढाइन लागेको जानकारी दिए । ‘पहिलो वर्ष एक करोडबाट सुरु गर्छौं । यो परीक्षणका रुपमा हुन्छ,’ विष्टले भने, ‘नगरपालिकाले एक करोड जम्मा गर्दा दुई करोडसम्म ऋण प्रवाह गर्छ । अर्को वर्ष यसलाई बढाउँदै लैजान्छौं ।’ भीमदत्तले मेयर उद्यमशीलता कार्यक्रमका लागि निर्देशिका र सहुलितयपूर्ण कर्जामा ब्याज अनुदान कार्यविधि बनाइसकेको छ । 

 

नेपाल बैंकका महेन्द्रनगर शाखा प्रबन्धक चन्दले तिहारपछि सम्झौताअनुसार कर्जा उपलब्ध गराउन सुरु गरिने बताए । ‘छोराछोरी पढाउन सकियोस् । जीविकोपार्जन गर्न दीर्घकालीन रुपमा व्यवसाय गर्न सकियोस् भन्ने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिएको छ,’ प्रबन्धक चन्दले भने, ‘सम्झौता भएको छ, अब तिहारपछि सुरु गर्छौं ।’

 

चन्दले सहुलियतपूर्ण कर्जामा पनि पुरुषलाई ३ दशमलव ८ र महिलालाई २ दशमलव ८ प्रतिशत ब्याजमा ऋण दिइने बताए । सरकारको नीतिअनुसार नेपाल बंैकले ६ दशमलव ८ प्रतिशत ब्याजमा सहुलितयपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ ।  

 

कार्यक्रममा भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले आर्थिक अभावमा उद्यम व्यवसाय गर्न समस्या भएका नगरबासीका लागि कार्यक्रम ऐतिहासिक अवसर भएको दाबी गरे ।
 
‘भीमदत्तको कार्यपालिकाले यो कार्यक्रमलाई ऐतिहासिक अवसरमा रुपमा ल्याएको छ । यसबाट व्यवसाय गर्न चाहने बासिन्दाले फाइदा लिन सक्नेछन्,’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने । कार्यक्रममा नगर उपप्रमुख सुशीला चन्दसहित कार्यपालिका सदस्य, कर्मचारी, उद्यमी व्यवसायीलगायत सहभागी थिए ।