close

फुङलिङ नगरलाई शिक्षकहरुकाे चेतावनी 

फुङलिङ नगरलाई शिक्षकहरुकाे चेतावनी 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - राहत शिक्षक फुङलिङ नगर संघर्ष समितिले दरबन्दी मिलानका क्रममा करार, राहत र स्थायीमा विभेद नगरी नियुक्ति मितिका आधारमा मिलान अघि बढाउन फुङलिङ नगरपालिकालाई चेतावनी दिएको छ । 


यसो नगरी राहत शिक्षकलाई मात्र मिलान गरिए जस्तोसुकै आन्दोलनमा जान तयार रहेको चेतावनी उनीहरुले नगरपालिकालाई गराएका हुन् । 


संघर्ष समितिले फुङलिङ नगरमा ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाभित्रबाट बाहिरिने दरबन्दी राहत शिक्षक मात्र नभई करार,राहत र स्थायीलाई एउटै बास्केटमा हालेर मिलान गर्नुपर्ने भनेको छ । संघर्ष समितिका नगर संयोजक नेत्रप्रसाद खड्का र सचिव जीवन ढुंगेलले हस्ताक्षर ध्यानाकर्षण पत्रमा दरबन्दी मिलान वैज्ञानिक र कानुनी प्रक्रियाअनुसार हुनुपर्ने उल्लेख छ ।


करार, राहत र स्थायी तीनै प्रकृतिका शिक्षकको नियुक्ति मितिका आधारमा कनिष्ठबाट मिलान हुँदै आए स्वीकार्य हुने संघर्ष समितिले बताएको छ । ‘राहत शिक्षक विशेष प्रकृतिको शिक्षक कोटा भएको र सरकारले पनि स्वीकृत दरबन्दीमा रुपान्तरण गरिसकेको अवस्थामा राहत शिक्षकलाई मात्र दरबन्दी मिलानको सूचीमा राख्नु वैज्ञानिक हुँदैन । सोही कारण नगरपालिकालाई ध्यानाकर्षण गराएका हौं’, संघर्ष समितिका नगर संयोजक नेत्रप्रसाद खड्काले भने ।


शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलले दिएको सुझावलाई आधार मानेर मात्र दरबन्दी मिलान अघि बढाउन  फुङलिङलाई आग्रह गरिएको उनले बताए । ०७५ को विद्यार्थी संख्यालाई आधार मानी दरबन्दी मिलान कार्य अघि बढाउनु न्यायसंगत नहुने संघर्ष समितिको तर्क छ । 

 

नगर शिक्षा समितिका अध्यक्ष एवम् फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेलले कानुनी व्यवस्था, शैक्षिक क्षेत्रका अगुवाको परामर्श र साझा निर्णयका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।