close

विद्यालयको पर्खाल भत्किएपछि प्रधानाध्यापकको पदै चट् !

विद्यालयको पर्खाल भत्किएपछि प्रधानाध्यापकको पदै चट् !

Trulli
ADVERTISEMENT

खोटाङ– निर्माण सम्पन्न भएको ११ दिन नबित्दै भत्किएको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राविको टेवा पर्खाल पुनः निर्माण गरिएको छ ।


प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा निर्माण गरिएका जालीसहितका र जालीबिनाका तीनमध्ये एउटा पर्खाल बनाएको ११ दिनमै भत्किएको हो ।

 

बर्खापछि गत ५ साउनमा विद्यालयको भवनको कुलेसोमा थुप्रिएको पर्खाल सोही बजेटमा व्यवस्थापन समितिले पुनः निर्माण गरेको दिप्रुङ चुइचुम्माका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।

 

आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटबाट निर्माण गरिएको जाली पर्खालबिनाको एउटा टेवा पर्खालको दुई÷तीन मिटर खण्ड भत्किएको थियो । सो पर्खाल निर्माणको काम पूरा नहुँदै रकम फस्र्योट गर्न खोज्दा तत्कालीन प्रधानाध्यापक रत्नकुमार बस्नेतले जागिरै  गुमाएका  थिए ।


विद्यालयको टेवा पर्खालको काम सम्पन्न नहुँदै अर्कै ठाउँको तस्बिर देखाएर फस्र्योट गर्न जाँदा तत्कालीन प्रधानाध्यापक बस्नेतलाई गाउँपालिकाले २८ असारमा जागिरबाटै निकाला गरेको थियो ।

 

योजना सम्पन्न नहुँदै असम्बन्धित योजनाको तस्बिर राखेर फस्र्योटमा गएको खुलेपछि बस्नेतलाई हटाएर व्यवस्थापन समितिले निमित्तका रुपमा निर्मला थापालाई २९ असारमा योजनाको फरफारक गरेको थियो ।

 

योजना फस्र्र्योटका लागि २२ असारमा गाउँपालिका पुगे पनि ओख्रेको आरुबोटे–लहरेपैयुँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर पेस गरिएको थियो । घटना बाहिर आएसँगै गाउँपालिकाको कारबाहीपछि गत २५ असारमा पर्खालमा माटो भर्ने काम सम्पन्न गरिएको थियो ।


तर, सो पर्खाल ११ दिन नबित्दै भत्किएको छ । विद्यालयको भत्किएको पर्खाल पुनर्निर्माणका लागि दिइएको निर्देशन पालना गर्दै पुनर्निर्माण गरेकामा गाउँपालिका अध्यक्ष राईले व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावकलाई धन्यवाद दिएका छन् ।
 

‘योजना सम्पन्न भएको भन्दै अन्य योजनाको बिल, भर्पाइ र फोटो पेस गरेर फस्र्योटको कोसिस गर्ने तत्कालीन प्रअलाई पदबाट बर्खास्त गरेका हौं । बनाएको पर्खाल पनि केही समयमै भत्कियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले पालिकाको निर्देशनलाई पालना गर्दै उक्त रकममै पुनः पर्खाल बनेको छ ।’


पर्खाल निर्माणको काम पूरा नहुँदै रकम फस्र्यौट गर्ने प्रयास भएको तथा बनेको केही समयपछि नै भत्किएपछि व्यवस्थापन समितिका अध्यक्ष जीतप्रसाद राई अध्यक्षताको अभिभावक सम्मिलित  बैठकले  पर्खाल मर्मत गर्ने निर्णय गरेको थियो ।


व्यवस्थापन समितिले पर्खाल पुनर्निर्माणको काम सम्पन्न गरेकाले शुक्रबारबाट योजना फस्र्र्योट प्रक्रिया थालिएको निमित्त प्रअ थापाले बताइन् । ‘पर्खाल निर्माणको काम पूरा भएपछि बुधबार गाउँपालिका अध्यक्ष अनुगमनमा आउनुभएको थियो,’ निमित्त  थापाले भनिन्, ‘समिति आफंैले पर्खाल पुनर्निर्माण गरेको हो । स्रोत जुटाइएको छैन । विद्यालय व्यवस्थापन समितिले उधारोमै काम गरेको हो ।’