close

कोरोनाले रोजीरोटी गुमाएका युवालाई बाख्रा हेर्ने जिम्मा

कोरोनाले रोजीरोटी गुमाएका युवालाई बाख्रा हेर्ने जिम्मा

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर विदेश-देशबाट फर्किएका युवालाई बाख्रा वितरणको तयारी थालेको छ । नेपाल कृषि सेवा विकास कार्यक्रम र स्वीस सरकारको आर्थिक साझेदारीमा गाउँपालिकाले कोरोनाका कारण विभिन्न देशबाट घर फर्किएका युवालाई लक्षित गर्दै स्थानीय खरी बाख्रा र बोयर बोका वितरण गरिन लागेको हो ।


‘युवालाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न तिहारपछि बाख्रा तथा बोका वितरण गर्दै छौ’, पालिकाका अध्यक्ष भूपेन्द्र राईले भने, ‘गाउँपालिकाले प्रस्ताव आह्वान गरेपछि खरी जातका बाख्रापालनका लागि ४३ र बोयर जातको बोकाका निम्ति ३० किसानको आवेदन परेको छ ।’

 

गाउँपालिकाले विदेश तथा स्वदेशको रोजगारी गुमाएर गाउँ फर्किएर बाख्रापालनमा लागेकालाई  १७ देखि २३ कात्तिकसम्म निवेदन पेस गर्न सूचना निकालेको थियो । 


यस्तै, खोर बनाएर व्यावसायिक  बाख्रापालन गरिरहेका विपन्न महिलालाई थप बाख्रा वितरण गर्ने तयारी गरिएको अध्यक्ष राईले सुनाए । खरी जातको बाख्रा खरिद जिम्मा रमुना बहुउद्देश्यीय कृषि तथा अर्गानिक कृषि पशुपन्छी तथा माछा फार्म सञ्चालक रामचन्द्र राईले पाएका छन् ।

 

बोयर जातको बोका खरिद तथा ढुवानीका लागि पौरखी बहुउद्देश्यीय अर्गानिक कृषि पशुपन्छी तथा माछा फार्म सञ्चालक बलजित राईले ठेक्का लिएको गाउँपालिकाका कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताइन् । ‘पालिकाका ७ वडामा एक/एक पुग्ने गरी किसानलाई सात वटा बोयर बोका र सिंगो गाउँपालिकाभरका किसानले उपयोग गर्न पाउने गरी दुइटा बोयर जातको बोका वितरण गर्दै छौं,’ बुढाथोकीले भनिन् ।

 

खरी जातको बाख्रा तथा प्रजननयोग्य बोयर जातको बोका खरिदका लागि गाउँपालिकाले गत ३ कात्तिकमा आपूर्तिकर्ता, कृषि सहकारी, व्यावसायिक कृषि तथा पशुपालन फार्मलाई सिलबन्दी दरभाउ बुझाउन सूचना जारी गरेको थियो ।

 

नेपाल कृषि सेवा विकास कार्यक्रमसँगको साझेदारीमा गाउँपालिकाले कुटानी पिसानीका लागि हैरानी खेप्दै आएकालाई तीन वटा मिल, सुन्तला, लिची, कागतीजस्ता पकेट क्षेत्रका किसानलाई ६ सय क्यारेट र धान काट्ने सात मेसिन प्रदान गर्नेछ । अतिविपन्न, लकडाउनका बेला सुत्केरी भएका तथा बाढीपहिरोपीडितलाई खाद्यान्न वितरण गरिने गाउँपालिका अध्यक्ष राईले बताए । 


‘चार सय घरपरिवारलाई तिहारपछि चामल, दाल, तेल, नुन र साबुन वितरणको तयारी छ । त्यसका लागि खाद्य सामग्री खरिद गर्न जेके इन्टरप्राइजेजसँग सम्झौता भएको छ’, अध्यक्ष राईले भने ।

 

गत आर्थिक वर्ष नेपाल कृषि सेवा विकास कार्यक्रममार्फत स्वीस सरकारले उपलब्ध गराएको कुल बजेटमध्ये ९८ प्रतिशत रकम खर्च गरेकामा दिप्रुङ चुइचुम्माले आगामी नोभेम्बरसम्म खर्चिने गरी पुनः ४५ लाख ७० हजार रकम प्राप्त गरेको हो ।