close

कोरोनासँग भिड्ने तेस्रो चरणकाे याेजनामा प्रदेश २ 

कोरोनासँग भिड्ने तेस्रो चरणकाे याेजनामा प्रदेश २ 

Trulli
ADVERTISEMENT

धनुषा - प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि तेस्रो चरणको तयारी सुरु गरेको छ । कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए-गरेको कामको समीक्षा र अगामी रणनीतिबारे छलफल गर्न  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समितिको बैठकले कोरोना महामारीविरुद्ध तेस्रो चरणको तयारी गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

 

महामारीविरुद्धको तेस्रो चरणको तयारीस्वरुप ५० हजार  भिटीएम र रिएजेन्ट खरिद गरिसकिएको, पिसीआर ल्याब सञ्चालन गर्न बाँकी चार जिल्लामा यसै सातादेखि चालू गर्ने गरी सबै तयारी पूरा भएको प्रदेशको सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी दिए ।  

 

‘कोरोना महामारीविरुद्धको तेस्रो चरणका लागि महत्वपूर्ण अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेशभरका ६ अस्पतालमा २५ बेडका दरले एक सय ५० बेडको उच्च निर्भरता कक्ष (एचडीयु) निर्माण गर्ने निर्णयसमेत भएको छ’, डा. यादवले भने । 

 

साथै, प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरूले खरिद गरेका भेन्टिलेटरलाई शीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको उनले बताए । 

 

मुख्यमन्त्री लालबाबु राउत अध्यक्षताको बैठकले भविष्यमा आउन लागेको कोरोनाविरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन गरेको छ ।


 
संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिबनाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्यका रुपमा रहेका छन् ।