close

कृषिलाई पर्यटनमा जोड्दै फुङलिङको करुणा सामुदायिक होमस्टे

कृषिलाई पर्यटनमा जोड्दै फुङलिङको करुणा सामुदायिक होमस्टे

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - कोलाहाल बेगरको शान्त ठाउँ । वरिपरि कृषि उत्पादनले छोपेर बीच भागको एकान्त वास । छुट्टाछुट्टै बसेर रमाइलो गर्न मिल्ने कटेज । सल्लाको शान्त सुसेली अनि यसो उभिएर हेर्दा पाथीभरा, कञ्चजनजंघा, कुम्भकर्णसहितका हिमाल स्पष्ट दखिने । 


माथि उल्लेख गरिएको सुन्दरतालाई आँखा चिम्लिएर अनुमान लगाउने हो भने तपाईं ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं.- मा ९ हाङ्देवाको बुङ्कुलुङस्थित सामुदायिक होमस्टेमा पुग्न सक्नुहुन्छ । त्यहाँको अर्को विशेषता भनेको अग्र्यानिक र स्थानीय उत्पादनको भरपूर उपभोग गर्न पाउनु हो । 


आलु, बन्दाकोपी, टमाटर, काउली, ब्रोकाउली, सागका प्रजाति, मौसमअनुसारका तरकारी बाली र गुन्द्रुक, सिन्कीको अचार । साथमा कोदोको ढिँडो, लोकल कुखुराको सुप, तोङ्वा र सुकुटीको बान्की अनि वर्षमा दुई पटक फल्ने आलु, हरियो मकै । त्यही भएर यो सामुदायिक होमस्टेलाई कृषि र पर्यटनसँग जोडिएको छ ।


‘पाहुना आउँदा आफ्नै बारीको उत्पादन थपक्क टिपेर पकाएर खुवाउँछौँ’, स्थानीय कृषि उत्पादनको उपयोगिताबारे त्यहाँस्थित करुणा सामुदायिक होमस्टे संचालन समिति सचिव पासाङरिता शेर्पाले भने, ‘गाईवस्तु पालेका छौँ, दुग्धजन्य पदार्थ पनि आफ्नै उत्पादन, मल पनि आफ्नै घरमा वस्तुगोठबाट ।’ 


यहाँको अर्को विशेषता भनेको सामुदायिक होमस्टे पूरै शेर्पा समुदायका सदस्यबाट संचालित छ । सातवटा घर छन् यहाँ । बुङ्कुलुङ आफैँमा शेर्पा बाहुल्य वस्ती हो । पाहुनाको स्वागतका लागि शेर्पा समुदायमा आधारित सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ । 


गर्मी मौसममा शीतल ठाउँ । रातको समय र जाडो याममा भने केही जाडो नै हुन्छ । त्यही भएर त्यहाँको सामुदायिक होमस्टेमा कोठा तताउने यान्त्रिक उपकरण, कोठामा तातो र चिसो पानी उपलब्ध हुने व्यवस्था गरिएको छ । होमस्टे संचालक समितिका अध्यक्ष निमाक्रिक्या शेर्पाका अनुसार चिसो बढी भए एकै ठाउँ भेला भएर आगो ताप्न मिल्ने धुवाँरहित चुह्लोको समेत व्यवस्था गरिएको छ । 


पूरै फलामले ढाकिएको र आगो तथा धुवाँ नदेखिने चुह्लोलाई बढी तातो र केही कम गर्न सकिने प्रविधिसमेत जडान गरिएको छ । 


कृषि र पर्यटनलाई एकसाथ जोड्ने गरी सुरु भएको सामुदायिक होमस्टेप्रति तारा गाउँ विकास समितिको पनि आँखा गएको छ । तारा गाउँ विकास समिति पर्यटन क्षेत्रमा काम गर्ने सरकारी निकाय हो । समितिका अध्यक्ष प्रह्लाद न्यौपाने ‘पाहुनाका लागि स्थानीय उत्पादन’ भनेर सुरु गरिएको अभियान साँच्चै लोभलाग्दो रहेको बताउँछन् । अभियान मनपरेपछि तारा गाउँ विकास समितिले पनि करुणा सामुदायिक होमस्टेसँग सहकार्य गर्ने भएको छ । 


उसले त्यहाँ सामुदायिक भवन बनाइदिन करिव सात लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ भने फुङ्लिङ नगरपालिकालाई पनि त्यसका लागि सहकार्य प्रस्ताव गरेको छ । सामुदायिक होमस्टेले पाहुनाको खपतभन्दा उब्रिएको कृषि उपजको उत्पादन बजारमा लैजाने योजनासमेत बनाएको छ । 


होमस्टे संचालकमध्येका एक दावा शेर्पा कृषि र पर्यटनलाई एकै माध्यमबाट जोडेर लैजान सकिन्छ भन्ने मान्यतालाई व्यवहारले नै पुष्टि गर्ने ध्येयले अभियान सुरु गरिएको बताउँछन् । होमस्टे संचालक समितिले नजिकै रहेको सबै खेतबारीसमेत लिजमा लिएर पाहुनाका लागि आवश्यक पर्ने उपभोग्य वस्तुको उत्पादन गर्ने गरी खेतीबालीसमेत लगाउन थालेको छ । 


ताप्लेजुङ सदरमुकामबाट करिब सात किलोमिटर पक्की बाटो गएर उत्तर-दक्षिण लोकमार्गको (मूलघाट-दोभान-ओलाङचुङगोला)तर्फको करिव दुई किलोमिटर सडक पार नगर्दै करुणा होमस्टे आउँछ ।


‘शान्त, सुन्दर, प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्रमा अग्र्यानिक, पूर्ण स्थानीय र पाहुनाको रुचिअनुसारको स्वाद अनि सन्तुष्टिसहितको सेवा दिने हाम्रो प्रयत्न रहनेछ’, होमस्टे संचालक समितिका सचिव पासाङरिताले दोहोर्‍याए । 


पाहुनालाई स्वाद र सन्तुष्टिले भरिपूर्ण बनाउने होमस्टेको अभियानमा सघाउन तारा गाउँ विकास समितिले होमस्टेमा आवद्ध घर परिवारलाई होटल व्यवसाय तालिमसमेत प्रदान गरेको छ ।