close

ललितपुरमा बन्यो देशकै नमुना अपांगमैत्री फुटपाथ

ललितपुरमा बन्यो देशकै नमुना अपांगमैत्री फुटपाथ

Trulli
ADVERTISEMENT

ललितपुर - ललितपुर महानगर र एसियन कंक्रिटो प्रालिको सहकार्यमा युएन टर्निङ हरिहरभवनदेखि एनएमबी बैंकसम्म ९० मिटर दूरीको अपांगमैत्री तथा वातावरणमैत्री नमुना फुटपाथ निर्माण भएको छ । शुक्रबार एसियन कंक्रिटो प्रालिका प्रबन्ध निर्देशक मनोज केडिया र प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा उक्त फुटपाथ हस्तान्तरण गरिएको हो ।


नवलपरासीमा रहेको एसियन कंक्रिटोले युरोपियन मापदण्ड र गुणस्तरमा विभिन्न आकार, रंग र प्रकारमा कंक्रिटजन्य वस्तु उत्पादन गर्दै आएको छ । प्रबन्ध निर्देशक केडियाले कम्पनीले नेपालका विभिन्न भूभागमा सरकारी, गैरसरकारी तथा निजी परियोजनामा अन्तर्राष्ट्रिय मापदण्डमा उत्पादित कंक्रिटजन्य सामग्री देशव्यापी रुपमा छिटोछरितो उपलब्ध गराउँदै आएको बताए ।


सहकार्यमा बनेको अपांग तथा वातावरणमैत्री नमुना फुटपाथ जम्मा १९ लाख ५८ हजार ८ सय ७८ बराबर कम्पनीको तर्फबाट सामाजिक दायित्वअन्तर्गत योगदान गरिएको उनले जानकारी दिए । कम्पनीको तर्फबाट कुल लागतको ९० प्रतिशत योगदान रहेको छ भने वडा-३ को तर्फबाट थप आवश्यक सहयोग गरिएको छ ।

 

नमुना फुटपाथ हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक केडियाले ललितपुर महानगरसँग सकार्य गर्न पाउँदा गौरवान्वित महसुस गरेको भन्दै भविष्यमा पनि विभिन्न परियोजनाका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।


यसैगरी महानगरप्रमुख महर्जनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार महानगरमा बनेको अपांगमैत्री तथा वातावरणमैत्री नमुना फुटपाथ देशमा अन्त कतै नभएको र यो आफूले भन्दै आएको स्मार्ट सिटीको एक प्रमुख अंग भएको दाबी गरे । उनले यसका लागि सहयोग गर्ने कम्पनीप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।


कम्पनीका सहप्रबन्धक श्यामल झाले एक वर्षदेखि कम्पनीले गुणस्तरीय उत्पादन निर्माण तथा वितरण गर्नका लागि संघर्ष गर्दै आएको बताए । काठमाडौँ उपत्यकामा सडक, फुटपाथलगायतका संरचना बन्दा कहिल्यै पनि अपांगमैत्री बन्न नसकेको र पटक-पटक अपांगहरू यसका लागि सडक विभागलगायत निकायमा ध्यानाकर्षण गराउन गएकाले आफूहरूले यो योजना ल्याएको उनको भनाइ छ ।


अब सरकारले यस्ता अन्य संरचना बनाउँदा यही मापदण्डमा आधारित रहेर गरोस् भन्ने उद्देश्यले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत यो फुटापाथ निर्माण गरेको झाले बताए । 
संरचना उद्घाटनपछि नगरप्रमुख तथा कम्पनीका प्रतिनिधिले ९० मिटर फुटपाथको अवलोकनसमेत गरेका थिए ।