close

ठाउँको विवादले रघुगंगामा रोकियो अस्पताल

ठाउँको विवादले रघुगंगामा रोकियो अस्पताल

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगामा पालिकास्तरीय अस्पताल निर्माण स्थलको विवाद चर्किएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमका अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो ।


गाउँपालिका र बेगका बासिन्दाबीच उत्पन्न स्थान विवादले अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्यौल सिर्जना भएको छ । २० कात्तिकको कार्यपालिका बैठकले सबै पालिकाबासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।


बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने मागसहित निर्णय सच्चाउन गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आएका वडा अध्यक्ष बिलप्रसाद फगामीले ठाउँनै तोकेर आएको योजना अन्यत्र लैजान नहुने र नदिने बताए ।


‘हाम्रो असहमति र विरोधपछि गाउँपालिकाका अध्यक्षले बेग स्वास्थ्य चौकीको भवन बनाउने योजना अन्य वडालाई दिने र बेगमै अस्पताल बनाउने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘अस्पताल बनाउन आवश्यक पर्ने ९ रोपनी जग्गा खोजिसकेका छौ ।’

 

१० करोड भन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन मन्त्रालयले चालु आर्थिक वर्षमा ८३ लाख रुपैयाँ बजेट समेत पठाएको छ । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पारिसकेको गाउँपालिकाले जनाएको छ ।


सबै वडाका बासिन्दाहरुलाई पायक पर्ने र केन्द्र समेत भएकाले मौवाफाँटमा अस्पताल बनाउन सहमतिमा निर्णय गरी ठाउँ संसोधनका लागि मन्त्रालयमा सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।


राष्ट्रिय पुननिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुननिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का लागिसकेको भवन वडा नम्बर ७ चिमखोला अथवा झिँ मध्ये कुनै एक ठाउँमा लैजान बेगबासीले प्रस्ताब गरेका छन् ।

 

एक ठाउँमा बनाउनका लागि सम्झौता भइसकेको योजना अर्कै ठाउँमा स्थानान्तरण गर्नु नीतिगत र प्राविधिक हिसाबले असम्भब हुने जानकारहरु बताउँछन् । बेगमा अस्पताल बनेमा छिमेकी भगवतीका केही बस्तीबाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने गाउँपालिकाका पदाधिकारीको भनाइ छ ।
 


‘बेगमा अस्पताल बनाउने नै हो भने ८ दिनभित्र जग्गा धनीपुर्जा लिएर आउने सर्तमा स्वास्थ्य चौकीको भवन चिमखोला वा झिँमा बनाउन सहमति दिनुहोस् भन्ने बिकल्पमा सहमति जनाएको हो,’ अध्यक्ष भण्डारीले भने, ‘खोजिएको जग्गा प्राविधिक हिसाबले उपयुक्त हुने आधार देखिएमात्र अस्पताल बनाउने भनिएको हो ।’

 

गाउँपालिकाले यसअघि बेगको बादुकमा सामुदायिक स्वास्थ्य इकाई र तिप्ल्याङमा आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिक स्थापना गरेको छ । मन्त्रालयले पाँच देखि १५ शैया क्षमताको अस्पताल बनाउन रघुगंगाको बेग, धवलागिरीको ताकम, मंगलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनौट गरेको थियो ।

 

बेनीमा जिल्ला अस्पताल र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । सबैलाई पायक पर्ने हिसाबले अस्पताल बनाउन ठाउँ छनौट नगरिएको र गाउँपालिकाको पछिल्लो निर्णयको विषयमा राजनितिक आरोप प्रत्यारोपसँगै रघुगंगाको अस्पताल बनाउने योजना कार्यान्वयन विवादमा परेको विश्लेषण गरिएको छ ।