close

साकेलामा खुल्यो पहिलो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र

साकेलामा खुल्यो पहिलो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र

Trulli
ADVERTISEMENT

खोटाङ-  घरगाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरेको छ । दूरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै साकेला–१ बाँझे च्यानडाँडाको डाँडागाउँमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको हो ।

 

सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले उद्घाटन गरे । ‘सामान्य स्वास्थ्य सेवाका लागि घन्टौं हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी बाँझे च्यानडाँडामा गाउँपालिकाकै पहिलो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरेका हौं’, पालिका अध्यक्ष खड्काले भने ।

तत्कालका लागि एक अहेब र कार्यालय सहयोगी व्यवस्था गरेर स्वास्थ्यचौकीसरहको स्वास्थ्य सेवा प्रवाह गरिने उनले बताए । स्थानीय जीवनकुमार राईले निःशुल्क जग्गा उपलब्ध गराएपछि गाउँपालिकाले तीनकोठे भवन निर्माण गरेर सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरेको हो ।


स्वास्थ्य चौकी मातहतमा रहने गरी स्थापना गरिएको स्वास्थ्य इकाइ केन्द्रमा अनमीलगायत आवश्यक जनशक्ति थप गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाका अन्य क्षेत्रमा क्रमशः सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्दै जाने योजना रहेको अध्यक्ष खड्काको भनाइ छ ।

 

निर्वाचित भएकै वर्ष स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि आवश्यक ठाउँमा सामुदायीक स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम पास गरेको गाउँपालिकाले केही समयपछि साकेला गाउँपालिका–३ खिदिमामा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तारको लक्ष्य राखेको थियो ।

 

‘हामी निर्वाचित भएकै वर्ष खण्डित भूगोलमा बसोबास गर्ने जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम तय गरेका थियौं,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘निःशुल्क प्राप्त जग्गामा भवन निर्माण गरेर स्वास्थ्य इकाइ केन्द्रको सेवा सुरु गरिएको हो । क्रमशः अन्य खण्डित भूगोलमा स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्दै जानेछौं ।’