close

सिदिङ्वामा अब प्रत्येक वडामा हप्तैपिच्छे अनुगमन

सिदिङ्वामा अब प्रत्येक वडामा हप्तैपिच्छे अनुगमन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अब हरेक वडामा साप्ताहिक अनुगमन गरिने भएको छ ।


गाउँपालिकाभित्र संचालन हुने योजनाहरू, विषयगत कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, सरकारी तथा गैरसरकारी निकाय र सहकारी संस्थाको अनुगमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउन हरेक वडामा साप्ताहिक अनुगमन गरिने भएको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनम लिङ्देन लिम्बूका अनुसार हरेक हप्ता एउटा वडामा यस्तो अनुगमन गरिनेछ । ‘गाउँसभाले पारित गरेको योजनाअनुसार अनुगमन कार्यविधि तयार भएको छ’, उनले भने । लिम्बूका अनुसार प्रत्येक वडामा संचालित योजनामा सम्बन्धित वडा अध्यक्ष रिर्पोटिङ संयोजक हुनेछन् । गाउँपालिका उपाध्यक्षले समग्र अनुगमन कार्यको नेतृत्व गर्ने कार्यविधि तयार भएको छ ।


सम्बन्धित वडाबाहेक पालिकाभित्रको अर्को वडाको अनुगमनमा समेत छिमेकी वडा अध्यक्षहरूलाई खटाइने कार्यविधि बनेको छ । एउटा वडाको प्रभावकारी योजना संचालन तथा व्यवस्थापकीय कार्य अर्को वडामा पनि प्रयोग गर्न सकियोस् भनेर अनुगमनमा सम्बन्धित वडा अध्यक्षबाहेक छिमेकी वडा अध्यक्षलाई पनि सहभागी गराउने योजना तय गरिएको गाउँपालिकाले जनाएको छ ।


सातामा कम्तीमा एक पटक पालिकाभित्रको एउटा वडामा अनुगमन गरिनेछ । अनुगमनका कार्यक्षेत्रभित्र सञ्चालित योजना, विषयगत कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, सरकारी तथा गैरसरकारी निकाय र सहकारी संस्था रहनेछन् । यी सबै अनुगमनका कार्यक्षेत्रभित्र मुस्कानसहितको सेवा प्रवाह भएको छ कि छैन, लक्ष्य र उद्देश्यअनुसार कार्य प्रगति अघि बढेको छ कि छैन, निर्धारित मितिमा सम्पन्न हुने गरी योजनाको प्रगति छ या छैन, अर्थपूर्ण र जनप्रेमी काम भएको छ कि छैन र लागत इस्टिमेटअनुसार काम भएको छ कि छैनलगायतका बुँदालाई अनुगमनको मुख्य आधार बनाइने भएको छ । यस गाउँपालिकामा छवटा वडा छन् ।