close

भानुजन र नारायणीले पढाउने भए पर्यटन र पर्वतारोहण

भानुजन र नारायणीले पढाउने भए पर्यटन र पर्वतारोहण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङका दुईवटा पालिकाका दुई माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषयको अध्यापन सुरु हुने भएको छ ।


फुङ्लिङ नगरपालिकाको वडा नं.- ४ मा रहेको भानुजन मावि र मैवाखोला गाउँपालिको वडा नं.- ३ रहेको नारायणी माविमा पर्यटन तथा पर्वतारोहण विषयको अध्यापन सुरु भएको हो । कक्षा ११ र १२ मा पर्यटन तथा पर्वतारोहण विषयको अध्यापन हुनेछ ।


अध्यापनका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र सम्बन्धित विद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले सम्वन्धित विद्यालयलाई कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन, अध्यापन गराउन अनुभवी प्रशिक्षक तथा पर्यटन र पर्वतारोहण विषयका पाठ्यक्रम र अध्ययन सामग्री उपलब्ध गराउने भएको छ । साथै उसले आवश्यकताअनुसार अन्य प्राविधिक तथा शैक्षिक सहयोग गर्ने भएको छ  ।


विद्यालयले कक्षा ११ र १२ मा पर्यटन तथा पर्वतारोहण विषय अध्ययन गराउने, अध्यापनमा संलग्न शिक्षकको व्यवस्थापन, पाठ्यक्रमका लागि पुस्तकालयलगायतका सामग्री विद्यालयले उपलब्ध गराउनेछ ।


अध्यापनसम्बन्धी हस्ताक्षरपत्रमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली तथा भानु माविका प्रधानाध्यापक किशोरकुमार राई र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाईंले हस्ताक्षर गरेका छन् ।

 

बर्सेनि हजारौँ मानिस हिमाल चढ्न विदेशबाट आउने र स्वदेशीले पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विषय अध्यापन सुरु गर्न लागिएको पर्वतीय प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।