close

लुम्बिनी प्रदेशको रोजगार पोर्टल सेवा

लुम्बिनी प्रदेशको रोजगार पोर्टल सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले बेरोजगार जनशक्तिलार्ई घरमै बसेर रोजगार सूचना उपलब्ध गराउन रोजगार पोर्टल अनलाइन प्रविधि सुरु गरेको छ । प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गरी आवश्यक जनशक्तिको प्रबन्ध गर्न सरकारले रोजगार पोर्टल संचालनमा ल्याएको हो ।


सेवा सुरु भएपछि बेरोजगार कुनै पनि नागरिकले घरमै बसेर अनलाइन आवेदन भर्न सक्नेछन् भने रोजगारदाताहरूले आफ्नालागि आवश्यक जनशक्ति यसै पोर्टलको माध्यमबाट आपूर्ति गर्न सक्नेछन् ।


रोजगार पोर्टलबारे जानकारी गराउँदै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यो नवीन कार्यको सुरुवात भएको बताए ।


‘कोरोना महामारीले स्वदेश फर्किएका नागरिकलाई रोजगारी सिर्जनाका लागि सरकारले काम गरिरहेको छ । प्रदेशमा आवश्यक जनशक्ति पूर्ति गर्ने गरी काम गरिरहेका छौँ । पोर्टले सेवाबाट थप सहज हुने अपेक्षा छ’, उनले भने ।


रोजगारदाता र रोजगारीका खोजीमा रहेकाहरूलाई एकै ठाउँ ल्याउने गरी सुरु गरिएको यो प्रविधिको माध्यमबाट रोजगार सिर्जना र जनशक्ति आपूर्तिलाई एकद्वार प्रणालीमा लैजान सजिलो हुने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले जानकारी दिए ।


‘नागरिकले पोर्टलमा गएर आफूले चाहेका रोजगार क्षेत्र, क्षमता, सीपबारे खुलाएर आवेदन दिन पाउनेछन् । यसैगरी रोजगारदाता कम्पनीहरूले आफ्नालागि आवश्यक जनशक्ति, सेवा सुविधालगायत विषय खुलाएर जनशक्ति माग गर्न सक्नेछन्’, डा. गौतमले भने ।


डब्लुडब्लुरोजगारलुम्बिनीजीओभीएनपीमा लगइन गरिसकेपछि आफूलाई काम गर्न चाहेको क्षेत्र छनोट गर्न सकिनेछ । छनोट गरिएको क्षेत्रमा आफूले काम गर्न चाहेको काम, पारिश्रमिक, क्षमतासमेत उल्लेख गरी सम्पूर्ण सम्पर्क विवरण भर्न सकिनेछ ।


गोपनीयताका लागि आवेदनकर्ताको मोबाइल नम्बरलगायतका केही जानकारी भने गोप्य राखिनेछ ।


यसैगरी रोजगारदाताहरूले यो पोर्टलमा गएर आफ्ना लागि आवश्यक जनशक्तिबारे विवरण खुलाएर राख्न सक्नेछन् । उनीहरूले आवश्यक पर्ने जनशक्तिको योग्यतासहितको विवरण खुलाउनुका साथै दिन सक्ने सेवा, सुविधासमेत उल्लेख गर्नुपर्नेछ ।


यसरी दुवै पक्षबाट आएका आवेदनलाई रोजगारदाता तथा रोजगारकर्ताहरूले छनोट गरी सम्पर्क स्थापित गर्न सक्नेछन् । यसरी रोजगारदाता तथा रोजगारकर्ताहरूबीच सम्पर्क स्थापित भएका रेकर्ड प्रदेशको रोजगार पोर्टलले संकलन गरेर राख्नेछ ।