close

व्यासीबासीका दुःख : आफ्नै सदरमुकाम जान भारतको बाटो

व्यासीबासीका दुःख : आफ्नै सदरमुकाम जान भारतको बाटो

Trulli
ADVERTISEMENT

दार्चुला– दार्चुलाको व्यासीका सौका समुदाय सदरमुकाम खलंगा झर्ने तयारीमा लागेका छन् । तर, उनीहरू नेपालको भूमि नभएर भारतीय बाटो हुँदै खलंगा झर्ने भएका हुन् ।


गत चैतदेखि नेपाल–भारत सीमा नाका बन्द छन् । व्यासीहरू आफ्नै भूमि भएर खलंगा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलंगा झर्न लागेको व्यास गाउँपालिका वडा–१ का वडा सचिव विनोद बुढाथोकीले बताए ।


गत जेठमा पनि व्यासीहरू भारतीय भूमि प्रयोग गरेरै छांगरु टिंकर उक्लिएका थिए । सरकारले व्यासीहरूलाई आफ्नै भूमि भएर आउजाउका लागि बाटो बनाउन नसकेपछि व्यासीहरूले भारतीय भूमि प्रयोग गर्नु परेको हो ।


सरकारले व्यासको छांगरु टिंकरका नागरिकलाई आफ्नो भूमिमा हिँडाउँछौं भन्दै घाँटीबगरको पाँच सय ५० मिटर घोडेटो बाटो नेपाली सेनामार्फत काम गरायो । उक्त स्थानमा बाटो बने पनि त्योभन्दा अप्ठेरो तम्बाकु भीरमा छिचोल्न नसक्दा स्थानीय अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको वडा सचिव बुढाथोकीले जानकारी दिए ।


छांगरु र टिंकर गाउँ बस्ने व्यासी सौका समुदाय मंसिर पहिलो साताबाट खलंगा झर्ने तयारीमा छन् ।  सीमा रक्षक भएर बस्दै आएका दुवै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेंसी (खलंगा) झर्ने तयारीमा लागेका हुन् ।


गत जेठमा व्यास उक्लिएका सौका समुदायका ६० परिवार पशु चौपायासहित ३ मंसिरमा औल अर्थात् खलंगा हिँड्ने उनीहरू ८ मंसिरमा त्यहाँ पुग्नेछन् । यस्तै, एक सय पाँच परिवार १९ मंसिरमा व्यासबाट हिँड्ने तयारी गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिए ।

 

‘व्यासीहरू अहिले खेतीपाती लगाएर खलंगा झर्न थालेका हुन् । नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठेरो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर उताको बाटोको प्रयोग गर्दै खलंगा आउन लागेका हुन्’, उनले भने ।


व्यासीहरू छांगरुको गागाबाट सीतापुल पार गरेर खलंगा आउनेछन् । भारतीय बाटो हुँदै खलंगा पुग्ने यात्रा भने त्यति सहज हुँदैन । आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि भारतको बाटोमै निर्भर रहनु परेको स्थानीयको गुनासो छ ।


उनीहरू छांगरुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाँचौं दिन एलागाड हुँदै छैटौं दिन खलंगा पुग्ने गर्छन् । व्यासीहरूको बसाइसराइलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ ।


पञ्चायत कालमा नेपालतिर घोरटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तीर्थ यात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यही थियो । त्यो बाटो झन्डै २०५९÷०६० सम्म चल्यो । तर, त्यसयता बनेका सरकारहरूले लगानी लगाए तर बाटो बनाएनन् ।


बाटो निर्माण र मर्मतको नाममा बर्सेनि करोडौं बजेट खर्चिए पनि आउजाउ गर्दा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि संघीय, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना, व्यास गाउँपालिकालगायतबाट खर्च भइरहेको छ ।


समुद्री सतहबाट १२ हजार फिट उचाइको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयको बाध्यता छ । यहाँका स्थानीय कुञ्चा सर्दा सम्पूर्ण परिवारका साथै पशु, उब्जनी, कपडा र भाँडाकुँडासहित आउने गर्छन् ।


खेतीपाती लगाएर आएका व्यासीहरू पुनः वैशाख, जेठमा खेतीपाती भित्र्याउन उक्लने गर्छन् । स्थानीयले वर्षको एक पटक उवा, नप्पल, तिते फापर, पल्ती र आलुजस्ता बाली लगाउने गर्छन् ।


यस क्षेत्रका स्थानीयको मुख्य पेसा कृषि र व्यापार हो । व्यासको छांगरु र टिंकरमा मात्रै झन्डै एक हजार बढी जनसंख्याको बसोबास छ ।


परापूर्वकालदेखि नै व्यासीहरूको दोहोरो बसाइ हुँदै आएको छ । तिनको घर, जग्गाजमिन सदरमुकाम खलंगामा समेत छ । उनीहरूले व्यासको छांगरु, टिंकरजस्तै खलंगामा पनि सोही प्रकारको बसाइ बसालेका छन् ।