close

बालपुरी बाबालाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो गाउँपालिका

बालपुरी बाबालाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो गाउँपालिका

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर- १ छिवनीमा रहेको धार्मिक पर्यटकीय स्थल बालपुरी बाबाको आश्रमलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन पालिका लागिपरेको छ ।

पालिकाले बालपुरी धामलाई यस क्षेत्रकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बनाउनका लागि स्थानीयसँग सहकार्य गर्दै विकास निर्माणमा जुटेको हो । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले बालपुरी आश्रमलाई धार्मिक पर्यटकीय स्थल बनाउनका लागि एक करोड रुपैयाँभन्दा बढी लगानी भएको जानकारी दिए । ‘सरकारी तहबाट एक करोड बढी लगानी भएको छ’, उनले भने, ‘अब धार्मिक पर्यटकीय स्थलको रूपमा विकास भयो ।’

स्थानीय, प्रदेश सरकार र तराई मधेशस समृद्धि कार्यक्रमबाट उक्त रकम खर्च भएको पाण्डेको भनाइ छ । बालपुरी मठ बालपुरी बाबाको समाधिस्थल मानिन्छ । स्थानीयवासी तथा सुस्ता- १ का वडा सदस्य ज्ञानप्रसाद न्यौपानेले बालपुरी मठ धार्मिक हिसाबले बालपुरी बाबाका ५२ वटा मठमध्येको एक तथा बाबाको समाधिस्थल भएकाले आन्तरिक रूपमा धार्मिक पर्यटकीय स्थल रहेको बताए ।


'यो ठाउँ धार्मिक मात्र नभई शान्त र मनोरमसमेत छ', न्यौपानेले भने, 'त्यसैले धार्मिक पर्यटनको निकै सम्भावना पनि छ । मठभित्र १०८ शिवपीठ, कालिका मन्दिर र बाबाको समाधिस्थल तथा विभिन्न संरचनाहरू बनाइएका छन् ।'


बालपुरी धार्मिक क्षेत्रको विकास हुँदै गएको र यसको उचित प्रचार प्रसार आवश्यक रहेको स्थानीय सुशीला तिवारी डुम्रेले बताइन् ।


यहाँ नवलपरासी पूर्व र पश्चिम रूपन्देही, कपिलवस्तु, चितवन र भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गर्छन् । यहाँ दर्शन गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


साउन महिनाभरि मेला लाग्ने यो आश्रम तीन बिघा क्षेत्रफलमा फैलिएको छ । यसको नजिकै चुहाडी कुमारवर्ती धार्मिक ऐतिहासिक क्षेत्र पनि छ । सुस्ता गाउँपालिकामा कोलीय गणराज्यको सिमाना मानिने अनोमाघाट (नारायणी) र मदारबाबा धार्मिक क्षेत्रसमेत पर्छन् । बर्दघाट बजारबाट बाढीपीडितचोकबाट पूर्व हुँदै पाल्डाँडाबाट खजुरा, बरुवा हुँदै यस आश्रममा सहजै पुग्न सकिन्छ ।