...त्यसपछि केपी ओलीले मलाई ग्वाम्लाङ्ग अँगालो हाले 


  • change font
  • change font
  • change font

छठ सुरु हुने दिन । कुपण्डोलको पुलमुनि पाल हालेर बनाइएको आकर्षक मञ्च । मञ्चमा लहरै बसेका छन्- राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाललगायतका भीआईपीहरू । 


नदी किनारमा झिलीमिली बत्ती बलेका छन् । ‘कुलमान घिसिङ गए पनि जे होस् बिजुली चैँ आइरहेको छ’, म कार्यक्रमस्थल पुग्दा मञ्चबाट अलिक टाढा बसेकी एक महिला भन्दै थिइन् । मनमनै सोचेँ, मञ्चमा बसेका ओली बाले यी महिला जस्ता हजारौँ नेपालीको माग किन सुनुवाइ गरेनन् ! 

 

हुनत यसपालि लक्ष्मीपूजामा मेरो घरमा पनि बत्ती गएन । ओली बाकहाँ त जाने कुरै भएन, भीआईपी सरकारी निवासमा किन जान्थ्यो र बत्ती । बत्ती जाने त सर्वसाधारणकहाँ न हो ! 


सोचमा मग्न रहेछु, कसैले हातले इसारा गरेर बोलाएजस्तो लाग्यो । मञ्चतिर हेरेँ- प्रधानमन्त्री केपी ओलीले बोलाएका रहेछन् । पछाडि फर्केर हेरेँ- अर्कैलाई बोलाएको हो कि भनेर । तर, मभन्दा पछि अर्को मान्छे देखिनँ अनि अघि बढेँ मञ्चतिर । 


ओलीको छेवैमा उनकै पार्टीका अर्का नेता प्रचण्डका लागि बस्ने ठाउँ बनाइएको रहेछ । खै किन हो, आजकल ओली र प्रचण्डबीच बिछट्टैको खटपट रहेछ । मञ्चमा पुगेको एकछिनपछि पो थाहा भयो- ‘ओलीको छेउमा बस्दिनँ’ भन्दै छेउमा बसेका माधव नेपालसँगै एउटै सोफा शेयर गरेर बसेका रहेछन् प्रचण्ड । 


ओली बाले मलाई आफ्नै छेउको कुर्सीतिर इशारा गर्दै बस्न भने । उनकै पार्टीका थुप्रै नेता मञ्चभन्दा तल दर्शकदीर्घामा बसेका छन् । म रिपोर्टिङका लागि पुगेको सामान्य पत्रकारलाई पार्टी अध्यक्ष, त्यसमा पनि दुई तिहाइ नजिक बहुमतको सरकार हाँकेका प्रधानमन्त्रीको छेउमा बस्न असजिलो लाग्यो । 


बुढाले कर गरेर बस्न भनेपछि छेउमा (झन्डै टाँसिएरै) बिसिदिएँ म पनि । मञ्चमा बसेर यसो दर्शकदीर्घातिर हेरेको, नेकपाका नेताजति सबै प्रचण्ड र माधव नेपाल खेमाका पो रहेछन् ! 


अनि ओली बाले भने, ‘यी प्रचण्ड र नेपाल पक्षधर नेताभन्दा त मलाई आजकल पत्रकार प्यारो लाग्छ, तेही भएर छेउमा बोला’को ।’ 

 

लाग्यो, बूढाले नेतालाई देखाउन मात्रै मलाई बोलाएका त पक्कै होइन । संवाद गर्न मन लाग्यो किनकि बूढाको भाषण गर्ने पालो आउन अझै १० मिनेट बाँकी छ । 


‘सञ्चै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’, आफैँले कुरा सुरु गरेँ । मञ्चको छेउमा बसेका प्रचण्ड र नेपालतिर हेर्दै बोले बूढा, ‘कोहीकोहीले त छ-सात महिना पहिला नै मरे पनि हुन्छ भन्थे तर अहिलेसम्म ज्यूँदै छु, अझै अढाइ वर्ष मज्जाले बाँच्छु । त्यसपछि पो के गर्छन् डाम्नाहरूले !’ 


हामी साथीहरूलाई जिस्क्याउँदा डाम्ना भन्थ्यौँ । ओली बा पनि मजाक गरेर सहकर्मीलाई डाम्ना नै भन्दा रहेछन् । मनमनै सोचेँ, टेलिभिजन सिरियलको थेगो हामी जस्ता सर्वसाधारणको मुखमा मात्र होइन, कार्यकारीको मुखमा पनि रहेछ । तर, तिनै मिडियाले दिएका सुझाव चैँ किन सम्झँदैनन् बूढा ? के यो पनि ‘सुखी नेपाली, समृद्ध नेपाल’को एकखाले सनेस हो ? 

 

अँ, अर्को के प्रश्न गरौँ भनेर सोच्दैथेँ बूढाले फ्याट्ट सोधे, ‘अनि स्थानीय तहमा काम गरिँदै रहेछ, कस्तो चल्दै छ पालिकाखबर ? मेराबारे के भन्छन् पालिकाका प्रमुख र अध्यक्षहरू ?’


‘नेकपा अध्यक्ष र प्रधानमन्त्रीका हैसियतमा तपाईंले खत्तमै गर्नुभयो नि भन्छन्’ भनेर सोझै भनिदिऊँ कि जस्तो लागेको थियो, प्रधानमन्त्रीलाई के निराश पार्नु भन्ने लाग्यो र घुमाएर कुरा गरिदिएँ । 


‘तपाईंको अडान र हिम्मत गज्जबको छ भन्छन् प्रधानमन्त्रीज्यू ! तर, निराश चैँ अलिक निराश नै लाग्यो है मलाई स्थानीय सरकारका प्रमुखहरू...’ 


बूढाले मेरो कुरा नसकिँदै फेरि सोधे, ‘किन रहेछ ?’

 

म पनि के कम ! ठाडो उत्तर दि’देँ, ‘न रेल आयो, न समृद्धि आयो, न त जनताले सोचेजस्तो शासकीय सुधार नै भयो । केवल दुई तिहाइ नजिकको सरकार हाँकेको पार्टीमा अस्थिरता अनि निकम्मा प्रतिपक्ष र अभिभावकविहीन बन्दै गरेका जनता मात्र रहे । 


‘कसरी तेस्तो हुन्छ’, बूढाले अलिक मुख बटारेर सिराएजस्तै गरेपछि प्रतिप्रश्न गरिदिएँ, ‘चुनावी घोषणापत्रअनुसार काम हुँदै छ त प्रधानमन्त्रीज्यू ?’


छेवैमा बसेका नेताहरूले सुन्लान् कि जस्तो गरेर ओली बाको उल्टै प्रश्न तेर्सियो, ‘के थियो रे घोषणापत्रमा ?’

 

म पनि के कम ! भन्दिइहालेँ, ‘घरबारविहीन, सुकुम्वासी, विपन्न र पछाडि पारिएका समुदायका परिवारलाई एक वर्षभित्र घर उपलब्ध गराइनेछ । प्रत्येक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारी उपलब्ध गराइनेछ ।’


अनि ? 

अर्को प्रश्न आएपछि फेरि सम्झाएँ घोषणापत्र- ‘पहिलो वर्षदेखि सुरु गरेर दोस्रो वर्षमा सम्पन्न हुनेगरी काठमाडौं डिजल र पेट्रोलियम वाहनहरूलाई विद्युतीय वाहनहरूबाट प्रतिस्थापन गरिनेछ ।’ 


घोषणापत्रको यो बुँदा सम्झाइदिएपछि बूढाले बागमती करिडोरको बाटो मोटरसाइकलमा हिँड्दा मेरो टाउकोदेखि पैतालासम्ममा लागेको धुलो र गाडीले हुतुतु फालेको धुवाँले कालो भएको पहिरन हेरेर फेरि सोधे, ‘होइन बाटो त खत्तम नै छ कि के त ?’ 

 

‘अनि के त ?’ 

घोषणापत्रमा लेख्नुभो- ‘इतिहास साक्षी छ- भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने काम कम्युनिस्ट तथा वामपन्थीहरूको नेतृत्वमा मात्र सम्भव छ’ भनेर, भयो त सम्भव ? 

 

म अलिक रिसाएँजस्तो लागेछ क्यारे, ओली बाको ढाडस आयो, ‘भो घोषणापत्रको कुरा छाडौँ, स्थानीय तहका प्रमुख र अध्यक्ष तथा जनप्रतिनिधिहरू चैँ सरकार र हाम्रो पार्टीबारे के भन्छन् ?’


मलाई जवाफ दिन सकस भयो, चुप बसेँ । बूढाले फेरि दोहोर्‍याएर प्रश्न गरेपछि त बोल्नै पर्‍यो । 

 

जनप्रतिधिको दूत बनेर म बोल्न थालेँ । 


सँगै लडेर लोकतन्त्र ल्याइयो तर अधिकारजति सबै केपी ओली (केन्द्र)ले राखे । सार्वजनिक रूपमा बोलौँ भने आफ्नै पार्टीका नेता, नबोलौँ भने आफ्नै अस्तित्व नजोगिने चिन्ता छ हामीलाई । 


कम्युनिस्ट राजनीतिमा लागियो । आफ्नै सरकार बनेपछि केके न होला भन्ने अपेक्षा थियो । न हामीलाई पर्याप्त बजेट छ, न कानुन छ, न त अब काम गर्ने समय नै बाँकी छ । 


कोरोना महामारीमा केन्द्रको नाक जोगाउने काम गर्‍यौँ तर अहिले आफ्नै नाक काटिने अवस्था छ । अस्पताल बनाऊ भनेर १० लाख दिएका छन् । यो रकमले कसरी बन्छ अस्पताल ? अझ अबको १२ दिनमा उद्घाटन पनि केन्द्रले नै समय मिलाएर गरिदिने रे ! भुत्रो बन्छ १० लाखले अस्थायी अस्पताल ?  न हामीसँग बजेट छ, न त अस्पतालमा बस्ने चिकित्सक, नर्स । नबनाऔँ जनताको स्वास्थ्यको कुरा छ, कस्तो पिरलोमा छौँ हामी जनप्रतिनिधि ! 


अझ जनताको गाली हामीले खानुपर्छ । यो भएन र त्यो भएन भनेर जनताले गुनासो गर्छन् तर हामीले केन्द्र सरकार तीन वर्षसम्म भेट्टाएनौँ । 


हिजोका पुराना संरचनाहरू यो वा त्यो नाममा पुनः ब्युँताउँदै छ केन्द्र सरकार । के ब्युँत्यायो भन्ने लाग्ला, सुन्नुस्- शिक्षा विकास तथा समन्वय इकाईको नाममा जिल्ला शिक्षा अधिकारीको संरचना बनाइयो । ज्ञान केन्द्रको नाममा जिल्ला कृषि कार्यालयको निरन्तरता छ । 


अझ कर्मचारी सबै केन्द्रले पठाउने । ती कर्मचारीले न भनेको मान्छन्, न काम लगाउन सकिन्छ । थाहै नपाई कर्मचारी पठाउँछन्, थाहै नदिई फेरि सरुवा हानिसक्छन् । अडिट गर्ने बेला भो, कर्मचारी नै हुँदैनन् । न आफैँले जाँच लिएर भर्ना नै गर्न पाइन्छ । 


‘कडा असन्तुष्टि पो रहेछ त है ?’, ओली बाले मलाई बीचैमा रोके । 


‘पख्नुस्, अझै बाँकी छन् गुनासा त’, म नरोकिई बोलिरहेँ-


प्राकृतिक स्रोतको उपयोगमा केन्द्र सरकारले विभिन्न नाममा अदृश्य ढंगले एकाधिकार जमाएको छ । हामी भर्खर सिक्दै गरेका संयन्त्र । यो वा त्यो सिकाउँछन् । क्याबिनेट कल्चरको कुरा उठाउँछ केन्द्रले । तीन वर्षमा अफिस कर्मचारी, कानुन सबै बनायौँ । जसोतसो गर्दै छाैँ ।

 

केन्द्रभन्दा उत्कृष्ट संयन्त्र छ तर विभिन्न वहानामा आरोप लाग्छ हामीलाई नै । केन्द्रले अधिकार कागजमा मात्र पठाउँछ, पैसा र संविधानले दिएको अधिकारसमेत कहिल्यै दिएन । न आफैँ जुटाउन पर्याप्त अधिकार नै दिएको छ । यस्तो बेला दुई तिहाइ नजिकको सरकार र सरकार हाँकेको पार्टी के काम ? 


‘हगि !’, प्रधानमन्त्रीले अझै चासो देखाएजस्तो लाग्यो । 


‘यी त जनप्रतिनिधिका तपाईंप्रतिका गुनासा हुन्, जनताका त कति हो कति छन् ?’


ओलीबाले फेरि प्रश्न तेर्स्याए, ‘अनि जनता चैँ सरकार र मेरो पार्टीबारे के भन्छन् नि ?’


जनताको नजरमा त तपाईं र तपाईंको सरकारबारे अविश्वासबाहेक केही छैन प्रधानमन्त्रीज्यू ! 


‘हैट ! तेस्तो पनि हुन्छ ? कोरोनाको उपचार फिरिमा गर्दिऊँला भन्दे’को छु, काम नभए पनि गफ दे’कै छु, पार्टी फुटाउने धम्की दे’र भए पनि पार्टीका डाम्नाहरूलाई तह लगाएकै छु, यहाँभन्दा कति गर्नु मैले ?’

 
अब चैँ मलाई पनि रिस उठ्यो । तपाईंले कम्युनिस्ट पार्टीलाई विधि र पद्धतिअनुसार चलाउनुभएन । पदीय झगडा गरेर बस्नुभयो । दुईवटा पार्टी मिलेर नेकपा बनेको बिर्सनुभयो । आलोचना गर्नेलाई किनारामा परेर भक्तिगान गाउने झुन्ड बोकेर सिंहदरबारलाई बालुवाटार सारेर जनता बिर्सेर शासन गर्नुभयो अनि रिसाउँदैनन् त जनता ? 


मेरो कुरा सुनेपछि अलिक नरम देखिए बूढा । 

 

‘तेसो भए मैले के गर्नुपर्‍यो त ?’

 

यस पटक मैले आफ्नो कुरा राखिनँ । जनता र जनप्रतिनिधिको दूतकै शैलीमा जवाफ दिएँ, ‘त्याग गर्नुस् प्रधानमन्त्रीज्यू ! यस्तो त्याग, जसले इतिहासमा तपाईंका कारण देश बन्यो भन्ने सन्देश जाओस् । तपाईं पार्टी र देशको अभिभावक । घुर्की तपाईंले होइन, सन्तानले लगाउने हो । निकास दिनुस् ।

 

यस्तो निकास होस्, जसले देश र तपाईंको शिर उचो बनाओस् । जनताले सरकार छ भन्ने अनुभूति गर्न सकून् । यसका लागि केही गर्नै पर्दैन, चुनावी घोषणापत्रका बाचाको कार्यान्वयन आजैबाट थाल्नुस् । जनताका लगानीमा ऊर्जा र उद्योगको लहर चलाउनुस् । पार्टीलाई पार्टीकै सिद्धान्तअनुसारको सामूहिक निर्णय प्रक्रियामा चल्न दिनुस्, साना चित्त भएका ठूला नेताअघि ठूलै छाती पार्नुस्...।


म बोल्दाबोल्दै ओली बाले झ्याप्प रोके । अलिक नजिक आए । ग्वाम्लाङ्ग अँगालो हाले र कानमा खुसुक्क भने, ‘मैले त जनता र जनप्रतिनिधिको कुरा बुझेँ कि ! उताका (प्रचण्ड, देउवा र नेपालतिर देखाउँदै)लाई ऐन मौकामा सोधिदिनू कि केपी ओली अब जनताको पक्षमा आइसक्यो, तिमेरू के गर्छौ रे ? 

 

मञ्चमा भेटेकै बेला सोधिहाल्छु भन्ने लागेको थियो, सिरानीमा राखेको मोबाइलमा बिहान ५ बजेको अलार्म च्याँठ्ठिएर कराएछ, म झसंग ब्युँझिएँ । बिहानैदेखि थकथक लागिरहेको छ, सपनामै सही, ओली बालाई जस्तै अरू नेतालाई जनताको गुनासा नबताई म किन ब्युँझिएछु । 


ओली बालाई जनता र जनप्रतिनिधिको दूत बनेर गुनासोको पुलिन्दा खोलेको सपना अब कहिल्यै देख्न नपरोस् ।