close

किसानलाई मल बाँड्दै गाउँपालिका  

किसानलाई मल बाँड्दै गाउँपालिका  

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले किसानलाई अनुदानको रासायनिक मल वितरण गर्न ढुवानी सुरु गरेको छ । गाउँपालिकाले किसानलाई अनुदानबापतको तीन हजार तीन सय १० बोरा युरिया, डिएपी र पोटास वितरण गर्ने भएको हो ।

 

आर्थिक वर्ष २०७७/०७८ भित्र दुई हजार एक सय ५० बोरा युरिया, एक हजार एक सय ४० बोरा डिएपी र २० बोरा पोटास ढुवानी गरेर किसानलाई वितरण गर्ने तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।


‘अनुदानको रासायनिक मल ढुवानी एवं बिक्री वितरणका लागि गाउँपालिकाले तीन मल बिक्रेता कम्पनीलाई छनोट गरेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ विराटनगरसमक्ष सिफारिस गरेका छौं । त्यसका लागि सुसेली सप्लायर्स, चुइचुम्मा कृषि सहकारी संस्था र चुइचुम्मा बचत तथा ऋण सहकारी संस्थालाई सिफारिस गरिएको उनले जानकारी दिए । 

 

मन्त्रालयले गत १२ असोजमा पठाएको पत्रको आधारमा अनुदानको मल वितरण निर्देशिका, २०७७ अनुसार पालिकाको अनुदान मल वितरण व्यवस्थापन समितिको २० कात्तिकको बैठकको निर्णयले मल बिक्रेता कम्पनी सिफारिस गरिएको उनले बताए ।


अनुदानको रासायनिक मल ढुवानी एवं बिक्री वितरणका लागि गाउँपालिकाले कृषि सहकारी, अन्य सहकारी, निजी फर्म तथा कम्पनीलाई कृषि शाखामा आवेदन दिन आह्वान गरेको थियो । 

 

खोटेहाङबाट दुई बिक्रेता सिफारिस

 

अनुदानको रासायनिक मल ढुवानीका लागि खोटेहाङ गाउँपालिकाले दुई बिक्रेतालाई सिफारिस गरेको छ । किसानका लागि आवश्यक पर्ने युरिया र डिएपी मल ढुवानी एवं वितरणका लागि अनुदानको मल व्यवस्थापन निर्देशिकाबमोजिम प्रदेश १ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पत्रअनुसार पालिकाले दुई कम्पनीलाई सिफारिस गरेको हो ।

 

सिफारिस गरेर पठाइएकामध्ये मन्त्रालयले एक कम्पनीलाई मात्र अनुदानको मल ढुवानी एवं वितरणका लागि छनोट गर्ने पालिकाका कृषि विकास शाखाकी नासु ममता खवासले बताईन् । ‘अनुदानको मल ढुवानी एवं बिक्री वितरणका लागि विक्रेता सिफारिस गर्न गाउँपालिकाले चारदिने समय दिएर २३ कात्तिकमा आवेदन आह्नान गरेको थियो’, उनले भनिन् ।

 

अनुदानको मल बिक्रेताका लागि रुचि देखाएका पालिकाभित्रका कृषि सहकारी, कृषि फर्म, कृषक समूह तथा कम्पनीलाई आवश्यक कागजातसहित आवेदन माग गरिए पनि दुईटा कम्पनीको मात्र आवेदन परेको छ । रासायनिक मल बिक्रेता छनोटका लागि दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर, अनुभव कार्यक्षमता प्रमाणपत्रको प्रतिलिपि, नापतौल मेसिन, गोदाम घर, सूचना प्रविधिलगायत भौतिक पूर्वाधारको विवरणसहित आवेदन आह्वान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छनोट गरेका मल बिक्रेतालाई गाउँपालिकाले मल ढुवानी अनुदान उपलब्ध गराउने र सोही आधारमा बिक्रेताले यूरिया र डिएपी खरिद गरेर गाउँपालिकाका ९ वडाका किसानलाई वितरण गर्नुपर्नेछ । 

 

छानिएका मल बिक्रेताले गाउँपालिकाको कृषि विकास शाखाले तोकेको परिमाणमा रासायनिक मल उपलब्ध गराउनुपर्ने खवासले बताईन् । अघिल्लो वर्षसम्म मल ढुवानीका लागि टेन्डर खुलाउने गरिएकामा यस वर्षदेखि बिक्रेताको सूची मन्त्रालयमा पठाएर छनोटको व्यवस्था गरिएको हो ।

 

‘हामीले बिक्रेताको सूची सिफारिस मात्र गरेका हौं । मन्त्रालयले दुईमध्ये कुनै एउटालाई मात्र छनोट गर्छ,’ खवासले भनिन्, ‘सोही आधारमा पालिकाले कुन वडाका लागि कति मल आवश्यक पर्छ,  रेकर्डसहित ढुवानी अनुदान उपलब्ध गराउँछ । सोही आधारमा कम्पनीले मल ढुवानी गरेर वडा-वडासम्म पुर्‍याउनुपर्नेछ ।’ 

 

गत आर्थिक वर्ष पालिकाका किसानलाई युरिया प्रतिबोरा (३० केजीको) आठ सय ५० र डिएपी प्रतिबोरा (३० केजीको) एक  हजार एक सय ५० रुपैयाँका दरले उपलब्ध गराइएको थियो ।